प्रमुख प्रशासकीय अधिकृत नहुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सेवा प्रभावित भएको हो।
What you should know
खोटाङ — प्रमुख प्रशासकीय अधिकृत नहुँदा खोटाङका विभिन्न स्थानीय तहको सेवा प्रभावित भएको छ। सेवाग्राही मारमा परेका छन्। दसैँ बिदामा घर गएर सम्बन्धित कार्यालयमा उपस्थित नहुनुका साथै सरुवा भएकाहरू पनि सम्बन्धित कार्यालयमा नआउँदा सेवाग्राही मारमा परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राई सरुवा भएर ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका गएपछि नगरपालिका प्रशासकीय अधिकृतविहीन भएको हो ।
सरकारले उक्त नगरपालिकामा शशी राईलाई एक महिनाअघि नै खटाए पनि राई अहिलेसम्म हाजिर भएका छैनन्। नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित भएको बताए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता, विभिन्न योजनाहरूको बोलपत्र आह्वान, आर्थिक कारोबार लगायतका काममा बाधा पुगेको उनको भनाइ छ ।
त्यस्तै, दसैँ बिदामा घर गएका हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी पनि कार्यालयमा आइपुगेका छैनन् । दसैँ बिदा सकिए पनि बिरामीको कारण देखाएर कार्यालयमा उपस्थित नभएको नगर पालिकाका प्रवक्ता कमल गिरीले बताए। ‘उहाँ (प्रमुख प्रशासकीय अधिकृत)को स्वास्थ्यमा समस्या आएको जानकारी गराउनु भएको छ,’ गिरीले भने ।
दसैँ बिदामै घर गएका दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद सेट पनि कार्यालयमा आइपुगेका छैनन् । दसैँ बिदापछि गाउँपालिकाको कामले विराटनगर गएपछि कार्यालयमा उपस्थित हुन नसकेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए। ‘दसैँ बिदामा घर जानु भएको हो, बिदा सकिएपछि पनि विराटनगरमा अफिसकै कामले जानु भएको छ,’ राईले भने,‘आज भोलि नै आउनुपर्ने हो, आउनुहुन्छ ।’
