अझै सडकमै छन् झापाका बाढीपीडित

झापा गाउँपालिका–२ सुगाबथानका ५० भन्दा बढी परिवार बाढीपछि घर फर्किए पनि सुरक्षित बसोबास गर्न नसकी सडकमा त्रिपाल टाँगेर बाँचिरहेका छन्।

आश्विन २३, २०८२

नवराज सुवेदी

The flood victims of Jhapa are still on the streets

झापा — बाँसको चित्रामाथि माटोले लिपेर बनाइएको घर अब बस्न सकिने अवस्थामा छैन। घरमा राखिएका अन्नपात पानीले भिजेर खानै नसकिने भएका छन्। हेर्दा घर सग्लो देखिए पनि भित्र कुनै सामान बाँकी छैन — सबै पानीले भिजेका छन्। अन्ततः झापाका बाढीपीडित सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्।

‘सडकमा सामूहिक रूपमा खाना बनाएर खान्छौँ। सडकमै बास छ हाम्रो,’ झापा गाउँपालिका–२ सुगाबथानका धरमलाल हेमरम भन्छन्, ‘घरमा राखेका अन्नपात केही पनि बाँकी छैन। सुरुमा बाढीबाट विस्थापित भएपछि नजिकैको विद्यालयमा आश्रय लिएर बसेका थियौँ, तीन दिनपछि फर्कियौँ।’

उनका अनुसार सुगाबथानका ५० भन्दा बढी परिवार अहिले पनि सडकमै छन्। कोही खाना पकाइरहेका छन्, कोही सुतिरहेका। कनकाई माईको किनारमा रहेको यो बस्तीमा गत आइतबार बिहानै बाढी पस्दा गाउँभन्दा केही उत्तरतिरको बाँध भत्किएर बाढी पसेको थियो। त्यसले सुगाबथान मात्र होइन, समग्र झापा गाउँपालिकालाई डुबायो। हजारौँ परिवार विस्थापित भए।

The flood victims of Jhapa are still on the streets

अहिले अधिकांश विस्थापित परिवार घर फर्किए पनि घरभित्र बस्न सकेका छैनन्। सडकमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। विभिन्न व्यक्ति तथा संघ–संस्थाले वितरण गरेको राहत नै उनीहरूको बाँच्ने आधार बनेको छ — जिल्ला प्रशासनले दिएको म्याट ओछ्याउने ओछ्यानसहित।

‘संघ–संस्था भन्दा पनि विभिन्न व्यक्तिहरूले दिएको दाल, चामल, तरकारी खाइरहेका छौँ। हिजो सिडिओ कार्यालयबाट पनि दाल, चामल, आलु, प्याजलगायतका सामग्रीसहित दुई वटा ओछ्याउने म्याट दिनुभयो,’ हेमरमले भने, ‘अहिलेसम्म राहतको दाल–चामलमै गुजारा छ। घरमा राखेको अन्न बाँकी छैन। अब के खाने ? कहाँ बस्ने ? टुंगो छैन।’

The flood victims of Jhapa are still on the streets

जिल्ला प्रशासन र सुरक्षा निकायहरूले जिल्लाको अवस्था सामान्य हुँदै गएको र विस्थापितहरू घर फर्किएको बताइरहे पनि, उनीहरूको वास्तविक बसोबास अझै सडकमै छ।

नवराज सुवेदी

Link copied successfully