मेला घुम्न गएकी बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आश्विन २३, २०८२

अर्जुन सुवेदी

Gang rape of a girl who went to the fair, three arrested

सुनसरी — दसैँको टिकाको दिन सुनसरीको बर्जु गाउँपालिका-६ मा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

स्थानीय चिमडी मेला घुम्न गएको बेला ती बालिकामाथि बर्जु गाउँपालिका-६ स्थित चन्दा मोहन बाँधमा लगेर ४/५ जना युवकहरूले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। उनीहरूमध्ये बर्जु गाउँपालिका-६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही उमेरका विजय साह र अर्का एक १५ वर्षीय एक बालक रहेका छन् ।

विजया दशमीको दिन राति १० बजे उक्त समूहले बालिकामाथि जबरजस्ती करणी गरेर भागेको सूचना इलाका प्रहरी कार्यालय चिमडीमा आएपछि प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो ।

नोबेल अस्पतालबाट ती बालिकालाई थप उपचारको लागि हाल कोसी अस्पतालमा राखिएको छ। अहिले उनको अवस्था मध्यम छ। घटनास्थलमा दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा प्रहरी टोली खटी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पीडित बालिका र घटना सम्बन्धमा थाहा पाउने मानिसहरूले खुलाई दिएको हुलिया र प्राविधिक विश्लेषणको आधारमा अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

उनका अनुसार घटना भएको तीन दिनपछि गत शनिबार पक्राउ गरिएको हो। घटनामा संलग्न अन्य आरोपीको समेत खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न मङ्गलबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरेको छ।

अर्जुन

Link copied successfully