स्थानीयको मनमा जे डर थियो, आखिर भयो त्यही । आइतबार बिहान ४ बजेतिर मेचीको बाढी गाउँ पस्यो । बाढी झन्झन् बढ्दो थियो । गाउँमा खोला कुद्न थाल्यो । गाउँबासीसँग कुनै विकल्प थिएन । बालबच्चा लिएर घरमै बसिरहे । उज्यालो भएपछि पनि बाढी घट्ने कुनै सुर थिएन ।
What you should know
झापा — गत शनिबार राति निरन्तर वर्षाका कारण चयनले निदाउन सकेनन्, मेचीनगर–१५ स्थित मेचीपारिका बासिन्दा । रातभर ठूलो पानी परिरहेकाले उनीहरुमा मेचीको बाढी गाउँ पसेर बस्ती नै बगाउने डर थियो ।
‘रातको समय मेची कत्रो भयो भनेर नियाल्न सक्ने अवस्था पनि थिएन । हामी रातैभर जागा बस्यौं । मनमा साह्रै डर थियो, खोला पसेर गाउँ नै बगाउला कि,’ स्थानीय लोकीराम बास्केले त्यो रात सम्झिए, ‘यसअघि पनि धेरै पटक बाढीकै कारण विस्थापित भइसकेको गाउँ हो हाम्रो । यसपाली पनि यस्तै हुने हो कि ठूलो डर थियो ।’
स्थानीयको मनमा जे डर थियो, आखिर भयो त्यही । आइतबार बिहान ४ बजेतिर मेचीको बाढी गाउँ पस्यो । बाढी झन्झन् बढ्दो थियो । गाउँमा खोला कुद्न थाल्यो । गाउँबासीसँग कुनै विकल्प थिएन । बालबच्चा लिएर घरमै बसिरहे । उज्यालो भएपछि पनि बाढी घट्ने कुनै सुर थिएन । ‘पूर्वपट्टी पानी कुदिरहेको थियो । पश्चिमपट्टी त झन् बहुलाएर आएको मेची । कहाँ जाने ? कसलाई गुहार माग्ने भयो । केही उपाय थिए, बालबच्चा च्यापेर घरमै बसिरहृयौं,’ लोकीरामले सुनाए, ‘पानीको सतह बढ्दै गयो । हामी खाटमाथि बस्यौं । अझै बढ्यो भने धुरीमा चढेर बस्ने भनेर मनमनै सम्झियौं ।’ उनका अनुसार बाढी नपसेको कुनै ठाउँ बाँकी रहेन । पानी नछिरेको घर देखिएन । गाउँमै रहेको विद्यालय मेची आधारभूत विद्यालयमा पनि बाढी पस्यो ।
बाढी झन् बढ्दै गए केही उपाय थिएन । दिउँसोपछि पानीको सतह केही घट्दै जाँदा मात्रै राहत महसुस गरेको उनले बताए । ‘दिउँसोदेखि पानी घट्न थाल्यो । तब मात्रै हामीलाई सास आयो,’ लोकीरामले भने, ‘घर त रहृयो । तर, बारीमा लगाएको सागसब्जी, अन्नबाली केही पनि बाँकी छैन । सबै बगाएर लग्यो ।’
गाउँको पूर्व–पश्चिम दुवैतर्फबाट बाढीको पानी बगेको थियो । गाउँदेखि करिब दुई सय मिटर पूर्वतर्फ भारतपट्टी बाँध छ । बाढी उक्त बाँधमा ठोक्किएर गाउँतर्फै आएको थियो । ‘बाँध पार गरेर भारततिर पानी जान सक्दैन । त्यसैले बाढी गाउँतर्फै फर्कियो,’ उनले भने ।
वरिपरि बाढी, बीचमा गाउँ । उद्धारका लागि सुरक्षाकर्मी आएनन् ?, प्रश्नमा उनले भने, ‘मेचीकै छेउमा रहेको टापुबाट कही मान्छेलाई उद्धार गरेर लगे । बाढी झनै ठूलो भए हाम्रातिर पनि आउँथे होलान् । तर, गाउँका मान्छेको अवस्था सोधीखोजी गर्न भने आजसम्म कोही आएका छैनन् ।’
नेपाल–भारत पूर्वी सिमानामा अवस्थित मेची नदी छिचोलेपछि पुगिने मेचीपारिको सिसौडाँगी, ग्वालबस्ती र झाडुबस्ती गाउँमा करिब ३५ परिवारको बसोबास छ । सतार, राजवंशी, यादव, मुण्डा, ग्वाललगायतका आदिवासी समुदायको बाहुल्य रहेको यहाँका बासिन्दाको जनजीवन बाढीले अस्तव्यस्त बनाइदिएको छ । अहिले बाढीको बहाव घटे पनि मेची तरेर वारि नेपालतर्फ आउने अवस्था छैन । हाल स्थानीय बासिन्दासँग खाद्यान्नका लागि बाढीबाट बचेका केही अन्नपात मात्रै छ । तर, सागसब्जीलगायतका लागि भारतको भर पर्नुपर्ने अवस्था छ । लोकीराम पनि बुधबार बिहान मात्रै दाल, तरकारी किन्न सीमावर्ती भारतीय बजार नयाँ हाट पुगेका थिए । विकासका सबैजसो पूर्वाधारले पछि परेका यी गाउँमा पढेलेखेका मानिस भेट्न मुस्किल र नेपाली भाषा नै नौलो लाग्छ । यी बस्तीका बासिन्दा खानेपानी, बिजुली, संचारलगायत सुविधाबाट पनि बञ्चित छन् ।
मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले विविध कारणबश आफूहरु नै उक्त गाउँ पुग्न नसकिरहेको बताए । उनका अनुसार मेचीको मूल भंगालोदेखि पूर्वपट्टी एउटा टापु छ । जहाँ पनि खेतीकिसानी गर्ने चार जना ग्वाल समुदायका मानिस बसिरहेका थिए । बाढीका कारण मेचीको अर्को भंगालो टापुभन्दा झनै पूर्व पुगेपछि ती चार जनालाई भने सुरक्षाकर्मीको सहयोगमा उद्धार गरेको उनले सुनाए । वडाध्यक्ष भट्टराईका अनुसार बुधबार नगरकार्यपालिका बैठकमा पनि विपद्बारे छलफल हुन नसकेको उनले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मेची पारिका गाउँमा बाढीले धेरै क्षति नगरेको बताए । ‘मेचीपारि धेरै क्षति छैन । सुरक्षाकर्मीले बाढीका बेला केही मानिसलाई उद्धार पनि गर्यौं । यसपाली मेचीले धेरै क्षति गरेको छैन । कनकाईले हो धेरै क्षति पुर्याएको,’ उनले भने ।
