जहाँ साँझ परेसँगै सुरु हुन्छ युवाहरूको सामूहिक गस्ती

प्रत्येक साँझदेखि सुरु भएको युवाहरूको गस्ती मध्यरातसम्मै चलिरहन्छ । कहिले त उज्यालो नै हुन्छ ।

आश्विन २२, २०८२

नवराज सुवेदी

झापा — जब साँझ पर्छ, झापा बाहुनडाँगीमा स्थानीय युवाहरूको एउटा समूह भेला हुन्छ । युवाहरूसँग देखिने गरी खासै धेरै सरसमान हुँदैन । हुन्छ त केवल एक–एक थान टर्चलाइट अनि युवाहरूको एकताको बल । जब युवाहरुको समूह भेला हुन्छ, सँगै सुरु हुन्छ बाहुनडाँगीमा युवाहरूको रात्रिकालीन गस्ती ।

उनीहरू टोल-टोल पुग्छन् । मेचीको बगर नियाल्छन् । यसरी प्रत्येक साँझदेखि सुरु भएको युवाहरूको गस्ती मध्यरातसम्मै चलिरहन्छ । कहिले त उज्यालो नै हुन्छ । यसरी मेचीनगर –४ बाहुनडाँगीमा युवाहरुको सामूहिक गस्तीको उपक्रम चलेको साढे तीन वर्ष भइसक्यो । आजसम्म अविरल जारी छ । उक्त युवा गस्तीको नाम हो, ‘र्‍यापिड रेस्पोन्स टिम’ अर्थात आरआरटी ।

‘हाम्रो उद्देश्य भनेकै आफ्नो गाउँठाउँमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणसँगै भारतबाट नेपालतर्फ आउने जंगली हात्तीबाट समाजलाई बचाउनु हो,’ आरआरटीका संयोजक न्युटन कार्की भन्छन्, ‘समाजमा अनेक आपारिधक गतिविधि मौलाइरहेका हुन्छन् । अहिले त झन् चाडबाडको माहोल छ । चोरीका घटना बढिरहेका छन् । यी सबै नियन्त्रण गर्नु हाम्रो कर्तव्य पनि हो ।’

साढे तीन वर्षदेखि चलिरहेको आरआरटीको यो यात्रामा सुरुमा २५ जना युवाहरू जेडिएका थिए । अहिले १८ जना युवाहरूको सक्रिय सहभागिता छ । कोही विदेश गए । कोही पढ्नलाई अन्त कतै । तर, पनि आरआरटीको रात्रीकालीन गस्तीको यो यात्रा रोकिएको छैन ।

‘बाहुनडाँगी यसै पनि जंगली हात्तीबाट प्रताडित क्षेत्र हो । यहाँ दैनिकजसो नै हात्ती आउँछन् । हात्ती आउनेबित्तिकै समाजलाई जानकारी गराउने, सचेत गराउने हाम्रो पहिलो दायित्व हो,’ आरआरटीका सह-संयोजक सदेश पौडेलले भने, ‘तर, यतिमै हाम्रो यात्रा सीमित छैन । हामी सीमा क्षेत्रमा लागूऔषधजन्य कारोबार नियन्त्रण, अन्य अवैध कामकारबाही यी सबै रोक्न सक्रिय छौँ ।’

युवाहरूको यस सामूहिक गस्तीले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणसँगै शान्ति छाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘विविध किसिमका अशान्तिका गतिविधि बढिरहेको अवस्थामा युवाहरूले यसरी समाजमा सक्रिय सहभागिता जनाउनु आफैंमा उत्तम हो,’ उनले भने, ‘यस प्रकारका कार्यले समाजमा अमनचयन कायम राख्छ ।’

नवराज

Link copied successfully