फेमे खोलामा सेनाले बनायो काठको पुल

नेपाली सेनाको फिदिमस्थित वीरदल गणबाट यहाँ पुल निर्माण गर्न खटेका सेनालाई स्थानीयले पनि सघाएका थिए ।

आश्विन २१, २०८२

लक्ष्मी गौतम

The army built a wooden bridge over the river Feme

पाँचथर — असोज १८ गतेको बाढीले क्षतिग्रस्त फिदिम याङनाम फालौट मार्ग अन्तर्गत फिदिम नगरपालिका १ र ११ को सीमावर्ती फेमे खोलामा नेपाली सेनाले काठको पुल निर्माण गरेको छ ।

पैदल यात्रीको सुविधालाई मध्यनजर गर्दै सेनाले यहाँ काठको पुल निर्माण गरेको हो । यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सनसहित वारि पारिको सडक असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाएपछि सेनाले यहाँ काठको पुल निर्माण गरेको हो ।

The army built a wooden bridge over the river Feme

बाढी र पहिरोका कारण यो सडक अवरुद्व छ । फिदिमदेखि फेमेखोलासम्म सवारी पुगे पनि त्यहाँबाट पारी तर्ने सम्भावना छैन । यहाँ सडक मर्मत गर्न केहि दिन लाग्ने पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

नेपाली सेनाले काठको पुल बनाएपछि सवारी नचल्दा रोकिएका र खोला तर्न नसकेर अभर परेका यात्रु धमाधम गन्तव्यतर्फ जान थालेका छन् । नेपाली सेनाको फिदिमस्थित वीरदल गणबाट यहाँ पुल निर्माण गर्न खटेका सेनालाई स्थानीयले पनि सघाएका थिए ।

The army built a wooden bridge over the river Feme

स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा यहाँ काठको पुल निर्माण गरिएको गणपति किशोर अधिकारीले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully