दस वर्षदेखि अधुरै पुल बाढीले भासियो

दक्षिणी झापाको झापा गाउँपालिका–२ मा पर्ने यो पुल आर्थिक वर्ष २०७३/७४ मा करिब ६ करोड लागतमा ठेक्का लागेर निर्माण सुरु भएको थियो । तर, लामो समय बितिसक्दा समेत पुल निर्माणको काम सकिएको थिएन ।

आश्विन २०, २०८२

नवराज सुवेदी

For ten years, the unfinished bridge was flooded

What you should know

झापा — निर्माण कार्य सुरु भएको झण्डै १० वर्ष बित्दा पनि पूर्ण रूपमा निर्माण सम्पन्न नभएको हुलाकी सडकअन्तर्गत सानो माईखोलाको पुल भासिएको छ ।

गत शनिबार रातिको अविरल वर्षापछि खोलामा बाढी आउँदा पुल भासिएको हो । पुलको बीच भागको पिलर भासिएको छ भने पूर्वतर्फको किनारमा समेत खोलाले कटान गरेको छ । अहिले मोटरसाइकल, साइकल तथा स्थानीय नागरिक ओहोरदोहोर गर्न मिले पनि अन्य सवारी साधन पुल तरेर जान सक्ने अवस्था छैन ।

दक्षिणी झापाको झापा गाउँपालिका–२ मा पर्ने यो पुल आर्थिक वर्ष २०७३/७४ मा करिब ६ करोड लागतमा ठेक्का लागेर निर्माण सुरु भएको थियो । तर, लामो समय बितिसक्दा समेत पुल निर्माणको काम सकिएको थिएन । हुलाकी सडक योजना कार्यालय इटहरीका योजना प्रमुख युवराज पोखरेलका अनुसार पुलसम्म पुग्ने एप्रोज रोड, पुलको रेलिङ, रिभर ट्रेलिङ लगायतको काम बाँकी थियो ।

तर, पुल पूर्ण रूपमा निर्माण सम्पन्न भएर सञ्चालनमा नआउँदै भासिएको उनले जनाए । यत्रो लागतमा बनेको पुल बाढीकै कारण भासिएको छ, अब पुलको पुनःनिर्माण कसले गर्छ भन्ने प्रश्नमा योजना प्रमुख पोखरेल भन्छन्, ‘पुल निर्माणको ठेक्का लामा–बाम्ती देवी भन्ने निर्माण कम्पनीले लिएको हो । पुल निर्माण भएर हस्तान्तरण भइसकेको छैन । आगामी कात्तिक महिनासम्म निर्माण सम्पन्न गर्ने म्याद थियो । पुल निर्माण कम्पनीले नै अब पनि निर्माण गर्नुपर्छ ।’

झापा बजार निवासी स्थानीय रञ्जन टुडुले आइतबार साँझ पुल भासिएको बताए । ‘आइतबार २–३ बजेसम्म पुल ठिकै थियो । साँझ भासिएको हो,’ उनी भन्छन््, ‘खोलामा बाढी त ठूलो आएको थियो । सारा गाउँ नै डुबानमा परेको थियो । तर, बाढी त थाम्न सक्ने पुल बनाउनुपर्ने हो । ठेकेदारले कस्तो पुल बनाएछन् ?’

कनकाई माई खोलामै आएको बाढीले बाँध फुटाएर बस्तीमा पस्दा यहाँ ठूलो क्षति भएको छ । अहिले पनि सयौं परिवार विस्थापित बनेको अवस्था छ । यही अवस्थामा बाढीका कारण पुल पनि भासिँदा थप समस्या भएको मिलनबस्तीका स्थानीय बब्लु सोरेन बताउँछन् । ‘ठूलो माई खोलामा त पिलर मात्रै ठड्याइएको छ । बर्खामा त्यो खोला त तर्नै असम्भव छ,’ उनले भने, ‘अब त सानो माई खोलाको पुल पनि भासियो । पारिपट्टि गाउँ बस्ती छन् । अब कसरी जाने पारि ?’

नवराज सुवेदी

Link copied successfully