स्थानीय प्रशासन, प्रहरी र ट्रेकिङ एजेन्सीले सगरमाथा क्षेत्रमा एक जना पनि पर्यटक फसेका छैनन् भनी औपचारिक रूपमा पुष्टि गरेका छन् ।
What you should know
सोलुखुम्बु — सगरमाथा क्षेत्र भ्रमण गर्न गएका सबै पर्यटक सुरक्षित र सकुशल रहेका छन् । भ्रमण र दृश्यावलोकनका लागि प्रसिद्ध शरद ऋतुमामा आएका सबै पर्यटक सुरक्षित रूपमा यात्रा गरिरहेका सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।
नेपालको भूभागअन्तर्गत सगरमाथा क्षेत्रमा कुनै पनि पर्यटक फसेका छैनन् भन्ने पुष्टि स्थानीय प्रशासन र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले गरेको छ ।
तीन दिनको हिमपातका क्रममा पर्यटकहरू होटलमै सुरक्षित रहेका र सोमबारदेखि नियमित ट्रेकिङ सुरु भएको प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले बताइन् । उनले भनिन्, ‘हाम्रो क्षेत्रमा कुनै पनि पर्यटक फसेका छैनन्, हामीले सूचना संकलन प्रणालीलाई चुस्त बनाएका छौँ । अहिलेसम्म सगरमाथा क्षेत्रमा सबै सुरक्षित छन् र निर्बाध रूपमा यात्रा गरिरहेका छन् ।’
सगरमाथा आधार शिविरभन्दा केही तल दिङबोचेमा प्रहरी चौकी स्थापना गरी सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
‘हामीले आधार शिविर नजिकै दिङबोचेमा हवलदारको कमान्डमा ६ जना प्रहरी तैनाथ गरेका छौँ,’ उनले भने,‘खुम्बु क्षेत्रमा आएका सबै पर्यटक सुरक्षित छन्, हामीले भरपुर सुरक्षा दिइरहेका छौँ ।’
उनका अनुसार तीन दिनको हिमपातले अवरुद्ध पदमार्गमा हिउँ पन्छाएर पर्यटन गाइड र सहयोगीहरूले अहिले पर्यटकलाई आधार शिविरतर्फ लैजाने काम सुरु गरेका छन् ।
यता ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पनि कुनै विदेशी पर्यटक सगरमाथा क्षेत्रमा समस्यामा नपरेको जनाएको छ । ‘सगरमाथा क्षेत्रमा सबै पर्यटक सहज रूपमा यात्रा गरिरहेका छन्,’ टानका द्वितीय उपाध्यक्ष सनम शेर्पाले भने,
‘मेरो क्षेत्रमा केवल एक जनाको उद्धार भएको छ, सगरमाथामा कुनै समस्या छैन ।’
त्यस्तै सगरमाथा क्षेत्रमा बाटो निर्माण र सरसफाइको जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले आरोहणको सिजन नभएकाले सगरमाथामा पर्यटक फस्ने सम्भावना नरहेको जनाएको छ ।
‘अहिले पर्यटकहरू हिमाल चढ्न आउँदैनन्, त्यसैले उनीहरू आधार शिविरभन्दा माथि जाने कुरा नै हुँदैन,’ एसपिसिसीका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘जति घुम्न आएका छन्, सबै सुरक्षित रूपमा घुमिरहेका छन् ।’
अध्यक्ष शेर्पाका अनुसार सिजन सुरु भएदेखि हालसम्म खुम्बु क्षेत्रमा ३ हजार विदेशी पर्यटक प्रवेश गरिसकेका छन् । तीमध्ये करिब आधा पर्यटक सगरमाथा आधार शिविर पुगेर फर्किएका छन् ।
सगरमाथा आरोहणको मुख्य ऋतु वसन्त (चैत्र–वैशाख) हो । अहिले प्रतिकूल मौसमका कारण हवाई तथा सडक मार्ग पूर्ण रूपमा सुचारु नहुँदा पर्याप्त संख्यामा पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गर्न सकेका छैनन् ।
आज बिहान मात्र सगरमाथामा एक हजार बढी पर्यटक फसेको भन्ने समाचार चिनियाँ सञ्चारमाध्यमहरूले सार्वजनिक गरेपछि ध्यान यसतर्फ गएको हो ।
