मेची राजमार्गका दससहित अन्य स्थानका सडकमा पहिरोको जोखिम

सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

आश्विन १७, २०८२

लक्ष्मी गौतम

Risk of landslides on roads in Mechi highway and other places

What you should know

पाँचथर — मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दस ठाउँमा पहिरोको जोखिम रहेको सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण गरेका छन् ।

सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका– ११ तीन घरे, रोङ गाउँपालिका–४ कोल्बुङ, रोङ गाउँपालिका– ३ चुच्चेढुङ्गा, इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका– १० राजदुवाली, इलाम नगरपालिका– ४ पुवाखोला, देउमाइ नगरपालिका– १ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका– ४ रमिते र फाल्गुनन्द गाउँपालिका– ३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।

यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ ।

यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा– २ को नावाखोला, मध्य पहाडी राजमार्गको याङवरक– ३ रिजाल भीर र याङवरक –२ को फलामखोला र मेवा खोला लगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले यस क्षेत्रबाट अत्यावश्यक काम नपरी यात्रा नगर्न प्रहरी प्रशासनको आग्रह छ ।

फालेलुङ–७ घुमाउनेटार फालेलुङ ५ र ६ को सीमावर्ती मुवाखोला,रााके रवि भेडेटार सडक खण्डका मगरभित्ता, शान्तिचोक र गुम्वाडाँडासहित कुम्मायक र फालेलुङका अन्य सडक पनि बाढी पहिरोको जोखिममा रहेकाले ती स्थानको बाटो भएर हिँड्ने यात्रुलाई सावधानी अपनाउनका साथै घर बाहिर निस्कनै परे प्रहरी बिट र कार्यालयहरूमा बुझेर मात्रै यात्रा तय गर्न सूचित गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।

२०८० सालयता पाँचथरसहित पहाडी जिल्लाहरूमा बाढी पहिरोले ठूलो परिमाणमा जनधनको क्षति पुर्‍याइसकेको छ ।

यसपटक पुनः मौसमविदहरुले असोज १७ देखि २० गतेसम्म पुनः बाढी पहिरोको जोखिम बढ्ने पूर्वानुमान गरेसँगै सतर्कता अपनाउन आग्रह गरिएको इलाम प्रहरी प्रवक्ता सञ्जिव बोगटीले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully