हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा गाडी दुर्घटना भएको हो ।
खोटाङ — काठमाडौंबाट दिक्तेल आउँदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो सोमबार बिहान ९ बजे दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ का ४७ वर्षीय खडकनारायण राई, काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीया तृष्णा राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीय देवराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरीकी २६ वर्षीया सरुकुसुम राई, दिक्तेल रूपाकोट मझुवागढी–१ हस्पिटलचोककी १९ की रूमिका राई, दिप्रुङ चुइचुम्मा–७ टेम्मा ज्यामिरेका २ वर्षीया पायल राई र टेम्मा ज्यामिरेकै २३ वर्षीया सलिना राई छन् ।
उनीहरूमध्ये खड्कनारायण राई र तृष्णा राईको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । अन्य भने डिस्चार्ज भइसकेका छन् ।
गाडीमा १३ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । गाडी सडकभन्दा करिब १० मिटर तल झरेको थियो । गाडी र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका २१ वर्षीय चालक विक्रम कार्की र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘चालक पनि सामान्य घाइते भएकाले उपचारका लागि अस्पताल ल्याइँदै छ,’ डीएसपी बुढाथोकीले भने ।
