चाडवाडमा यात्रुबाट बढी भाडा असुली, एकतर्फी मात्र यात्रु पाइने भन्दै यात्रुलाई जबर्जस्ती रिजर्बको भाडा तिर्न लाइन्छ 

उक्त यातायातका टिकट काउण्डरमा कार्यरत बेगिन राईले भने काठमाडौंदेखि बुइपासम्मको गाडी भाडा १८ सय भए पनि रिजर्भमा पठाइएकाले २५ सय भाडा लिनु परेको बताएका छन् ।

आश्विन ११, २०८२

डम्बरसिं राई

Passengers are forced to pay reserve fare due to the fact that passengers are charged more fare during festivals, only one-way passengers are allowed.

खोटाङ — सवारी साधनले चाडवाडको बेला मौका छोपेर बढी भाडा लिएको यात्रुले गुनासो गरेका छन् । दसैंको बेला घर आउने यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो गरेका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ बुइपाका भीषण राईले आफ्नी दिदी भविना राईलाई काठमाडौंबाट बुइपासम्म आउनका लागि तुवाचुङ मारुतिका यातायात प्रालिको सुमोमा २५ सय रूपैयाँ भाडा तिर्नु परेको बताएका छन् । 

उनीसहित अन्यले पनि बढी भाडा तिर्नुपरेको यात्रुले गुनासो गरेका छन् । उक्त यातायातका टिकट काउण्डरमा कार्यरत बेगिन राईले भने काठमाडौंदेखि बुइपासम्मको गाडी भाडा १८ सय भए पनि रिजर्भमा पठाइएकाले २५ सय भाडा लिनु परेको बताएका छन् । 

‘गाडी भाडा त १८ सय मात्रै हो, तर रिजर्वमा गएकाले २५ सय तिर्नुपरेको हो’ राईले भने, ‘खोटाङ जाँदा मात्र यात्रु पाइन्छ, काठमाडौं आउँदा यात्रु नै पाइँदैन, रित्तो आउनुपर्छ, त्यही भएर रिजर्बमा बढी भाडा लागेको हो ।’

त्यस्तै अन्य यातायातका साधनलेसमेत महंगो भाडा असुलेको यात्रुहरूले गुनासो गरेका छन् । काठमाडौंबाट दिक्तेल आएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका अरुण राईले पनि २५ सय नै तिर्नुपरेको गुनासो गरेका छन् । त्यस्तै लफ्याङकै एक महिलाले पनि ४२४४ नम्बरको सुमोमा काठमाडौंबाट घर आउदा २५ सय रूपैयाँ नै तिर्नुपरेको बताएकी छन् । 

उनले एकै परिवारका तीन जनाको २५ सय रूपैयाँका दरले भाडा तिरेर खोटाङ आएको बताइन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की खुसी शंकरले पनि २५ सय तिरेर दिक्तेल आएको बताइन् । ‘गाडीले टिकट पनि दिएन, पैसा पनि त्यत्रो लियो’ उनले भनिन् ।

त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी एक महिलाले दुई जनाको ५ हजार तिरेर खोटाङ आएकी छन् । उनले तुवाचुङ मारतिका यातायात प्रालिमा दुई जनाको ५ हजार तिरेकी हुन् । बढी पैसा नतिरे टिकटै नपाइने भएकाले बाध्य भएर बुझाउनु परेको जनाइन् ।  

जिल्ला प्रहरी कार्यालय खोटाङले यात्रु सहायता कक्ष स्थापना गरी चाडवाडको समयमा निर्धारण गरिएको दर भन्दा बढी भाडा लिएको पाइएमा कारबाही गर्ने जनाएको छ । जयराम, हलेसी र दिक्तेल किरातचौकमा यात्रु सहायता कक्ष स्थापना गरी अनिवार्य टिकट सहित निर्धारित भाडा दरमा यात्रुलाई सहज यात्रा गराउनुपर्ने जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जनाएका छन् । ‘यदी बढी भाडा र टिकट नदिए कारबाही गरिन्छ’ बढाथोकीले भने । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully