उत्तर-दक्षिण कोशी राजमार्ग दसैंअघि नखुल्ने

भोटखोला गाउँपालिकाको बाहिरी सम्पर्क मार्ग नै सडक भएकाले गाउँपालिकाका बासिन्दा थप समस्यामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।

आश्विन ९, २०८२

दीपेन्द्र शाक्य

The North-South Koshi Highway will not open before Dasain

संखुवासभा — अविरल वर्षासँगै खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग गत एक महिनादेखि पूर्णरूपमा अवरुद्ध छ । मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको पहिरोले करिब पाँच सय मिटर सडक बगाएपछि भोटखोला गाउँपालिकासहितका उच्च भेगसँगको सम्पर्क पूर्ण रूपमा टुटेको हो ।

भोटखोला गाउँपालिकाको बाहिरी सम्पर्क मार्ग नै सडक भएकाले गाउँपालिकाका बासिन्दा थप समस्यामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । उनले भने, 'दसैंको मुख्य चाड नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा जनताले आवतजावतमा मात्र होइन, अत्यावश्यक सामग्री ल्याउन र रोगीबिरामी लैजाने विषयमा समेत ठूलो समस्या भोग्नु परेको छ ।' उनका अनुसार स्थानीयहरू अहिले जीवन जोखिम मोलेर पैदल आवतजावत गर्न बाध्य भएका छन् । सडक अवरुद्ध भएपछि खाद्यान्न, इन्धन दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति रोकिँदा अभाव देखिन थालेको छ । दसैं नजिकिँदै गर्दा चाडपर्वका लागि आवश्यक सामग्री ल्याउन नसक्दा स्थानीय व्यापारीहरू समेत चिन्तित छन् ।

सडक अवरुद्ध भएसँगै यात्रुबहाक गाडीहरू बाटोमै रोकिएका छन् उनले भने मालसामान ढुवानी गर्ने सवारीसाधन बीचमै अड्किएका कारण व्यापारी तथा उपभोक्तालाई थप मार परेको छ । पहिरो पार गर्नुपर्ने बाध्यतामा परेका स्थानीयले औषधि र आपतकालीन सामग्री पनि पाउन समस्या भएको गुनासो गरेका छन् ।

उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङले पहिरो अत्यन्त जोखिमपूर्ण स्थानमा खसेकाले मर्मत सम्भारमा कठिनाइ भएको जानकारी दिए । उनका अनुसार लगातारको वर्षाले भीर अस्थिर बनेकाले कामदार र मेसिन परिचालन गर्न जोखिम बढेको छ । उनले भने, 'पहिरो पन्छाउने काम सुरु भए पनि ढुंगामाटो खसिरहेकाले काम निरन्तर गर्न सकिएको छैन ।'

गुरुङले दसैंअघि सडक सञ्चालनमा ल्याउने सम्भावना नरहेको स्पष्ट पारे । उनका अनुसार पहिरो हटाउन अझै समय लाग्ने भएकाले तत्काल सडक खुल्ने देखिँदैन । 'पानी रोकिएपछि मात्रै ठूलो मेसिन प्रयोग गरेर सडक मर्मतको काम अघि बढाउन सकिन्छ,' उनले भने, 'दसैंअघि सडक चल्न सक्ने अवस्था छैन ।' 

राजमार्ग अवरुद्ध भएपछि मकालु, भोटखोला, किमाथांका र आसपासका बासिन्दाका आवतजावत, उपचारलगायतका सेवा ठप्प बनेका छन् । भोटखोलाका जनप्रतिनिधिहरूले तत्काल वैकल्पिक सडक वा पैदलमार्ग निर्माण गरेर भए पनि जनतालाई आवतजावत सहज बनाउन आग्रह गरेका छन् ।

स्थानीयवासीले भने सरकार र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन् । कोशी सडक भोटखोला क्षेत्रको जीवनरेखा मानिन्छ । उत्तर–दक्षिण कोशी राजमार्ग लामो समयदेखि बन्द हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । चाडपर्वमा अझै बढी समस्या आउने देखिएकाले तत्काल प्रभावकारी पहल र छिट्टो मर्मत गर्न जरुरी रहेको स्थानीयको भनाइ छ ।

दीपेन्द्र शाक्य

Link copied successfully