भारतको जीएसटी दरअनुसार आयात करको दर पुनःपरिमार्जन गर्न अर्थमन्त्रीलाई मोरङका उद्योगी व्यवसायीको सुझाव 

मोरङ उद्योग व्यापार संघले बुधबार आयोजना गरेको छलफलमा व्यवसायीहरुले मन्त्रीसमक्ष उद्योग–व्यवसाय क्षेत्रको संरक्षण र मुलुकको आर्थिक विकासबारे विस्तृत सुझाव पेस गरे ।

आश्विन ८, २०८२

पर्वत पोर्तेल

Suggestion of industrialists from Morang to finance minister to revise the rate of import tax according to India's GST rate

विराटनगर — मन्त्री भएपछि काठमाडौं बाहिरको पहिलो कार्यक्रममा सहभागी भएका अर्थमन्त्री रामेश्वर खनालसामु मोरङका उद्योगी व्यवसायीले भारतको जीएसटी दरअनुसार आयात करको दर पुनःपरिमार्जन गर्न सुझाव दिएका छन् । 

मोरङ उद्योग व्यापार संघले बुधबार आयोजना गरेको छलफलमा व्यवसायीहरुले मन्त्रीसमक्ष उद्योग–व्यवसाय क्षेत्रको संरक्षण र मुलुकको आर्थिक विकासबारे विस्तृत सुझाव पेस गरे । संघका अध्यक्ष अनुपम राठीले तत्कालीक, मध्यकालीन र दीर्घकालीन तहमा लागू गर्नुपर्ने नीतिगत प्रस्तावहरु अर्थमन्त्री खनालसमक्ष प्रस्तुत गरे ।

राठीले भारतको जीएसटी दरअनुसार नेपालका आयात कर दर पुनःपरिमार्जन गर्नुपर्ने माग गर्दै करिब ५० वस्तुको नेपाल–भारत कर प्रणालीको तुलनात्मक तालिका पेस गरे । 

उद्योग र व्यवसाय दुवैका लागि बहुदरको मूल्य अभिवृद्धि कर लागू गर्नुपर्ने, नेपाली निर्यातकर्तालाई समयमै बीआइएस प्रमाणपत्र दिलाउन भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने, उत्पादनमूलक उद्योगका लागि ४० प्रतिशत चालु पुँजी कर्जा सीमा खारेज गरिनुपर्ने धितोपत्र कारोबार सुदृढ बनाउने र आईपीओ प्रक्रिया छिटो गर्नुपर्ने लगायतका माग राखे । 

त्यस्तै विदेशी मुद्रा अभावका कारण रोकिएको खाद्यान्न आयात तत्काल खोल्न, औद्योगिक मेसिनरी आयातमा सहुलियत र स्वदेशी उद्योगलाई पाँच वर्षसम्म कर छुट दिन, अमेरिकी न्यून ट्यारिफ दरको फाइदा उठाउने नीति ल्याउन, भारतको सीमावर्ती ३० करोड जनसंख्या लक्षित उद्योग स्थापनाको नीति ल्याउनसमेत माग गरिएको थियो । 

व्यवसायीहरुले दीर्घकालीन रणनीतिमा ऊर्जा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा ठूलो लगानी बढाउन, राजस्व केन्द्रित परियोजना समयमै सम्पन्न गर्ने नीति लिन सरकारलाई आग्रह गरे । 

व्यवसायीहरुको सुझाव सुनेपछि अर्थमन्त्री खनालले जेन-जी पुस्ताले भ्रष्टाचार अन्त्यका लागि उठाएका सकारात्मक मागलाई सम्बोधन गर्दै, सरकार निजी क्षेत्रसँग सहकार्यमा पारदर्शी कर प्रशासन, लगानीमैत्री वातावरण र आर्थिक विकासमा निरन्तर प्रयत्नशील रहेको बताए । उनले संघबाट प्राप्त सुझावलाई प्राथमिकता दिँदै कार्यान्वयनका लागि अध्ययन गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ–कोशीका अध्यक्ष पवनकुमार सारडा, संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतलगायतको उपस्थिति थियो । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully