जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार कैदीबन्दीको सवालमासमेत कोशीका पहाडी जिल्लामा सतर्कता अपनाइने र समन्वय गरी खोजी गरिने निर्णय गरिएको छ ।
धनकुटा — चाडपर्वमा कोशी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरुमा सहज रुपमा खाद्यान्न आपूर्ति गर्ने, यातायातको व्यवस्था तथा सुरक्षा लगायतका सवालमा चार जिल्लाका सुरक्षा समितिको संयुक्त बैठक धनकुटाको पाख्रिबासमा सम्पन्न भएको छ ।
बैठकमा चारै जिल्लामा विभित्र स्थानमा चाडपर्व लक्षित सहायता कक्ष राखिने निर्णय गरिएको छ । यसैगरी, जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार कैदीबन्दीको सवालमा समेत कोशीका पहाडी जिल्लामा सतर्कता अपनाइने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको बैठकमा पहाडी जिल्लाका सुरक्षा निकायले एक आपसमा समन्वय गर्दै सूचना आदान प्रदान गरेर फरार भएका कैदीबन्दीहरुको खोजी कार्य अघि बढाउने निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
यसक्रममा चार जिल्लामा सवारी साधनमा टायम कार्ड प्रभावकारी बनाउने छलफल भएको छ । चार जिल्लामध्ये धनकुटामा भने टायम कार्ड प्रयोगमा आइसकेको छ । अन्य तीन जिल्लामा समेत टायमकार्ड प्रयोग गरिने जनाइएको छ ।
