पहिरोले मुक्तेन गाउँका केबलप्रसाद मगरको दुई तले घर पूर्ण रूपमा क्षति भएको छ। विस्थापित परिवारलाई अस्थायी टहरा बनाएर राखिएको छ।
धनकुटा — लगातारको वर्षाका कारण पहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनका ९ परिवार विस्थापित भएका छन्।
निर्माण भइरहेको भेडेटार–रवि–राँके सडकको माथिल्लो भागबाट सोमबार दिउँसोदेखि पहिरो खस्ने क्रम सुरु भएको प्रहरीले जनाएको छ। यो क्रम अझै जारी रहेको जनाइएको छ। पहिरोले मुक्तेन गाउँका केबलप्रसाद मगरको दुई तले घर पूर्ण रूपमा क्षति भएको छ। विस्थापित परिवारलाई अस्थायी टहरा बनाएर राखिएको छ।
यस्तै, स्थानीय मोहन मगर, विष्णुबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर र रणबहादुर मगरको घरसमेत चर्किएर बस्न नहुने अवस्थामा पुगेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।
पहिरो प्रभावित परिवारलाई सुरक्षित रूपमा बसोबास गराउने तयारी गरिएको राईले जनाए। ‘प्रभावित परिवारलाई आफन्त र छरछिमेकका घरमा राखेर तत्काल बसोबासको वैकल्पिक व्यवस्थापन गरिने प्रक्रिया अघि सारिएको छ,’ राईले भने, ‘राहत र अन्य आवश्यक व्यवस्थापनका लागि तत्काल प्रबन्ध गरिने छ।’
पहिरो प्रभावित स्थानमा गाउँपालिकाका अध्यक्ष, भेडेटार इलाका प्रहरी कार्यालयलगायतको उपस्थितिमा क्षतिको मुचुल्का संकलन गरिएको छ। यसअघि पनि मुक्तेन गाउँ पहिरोबाट प्रभावित बन्दै आएको थियो।
