इतिहास सम्झाइरहने धरानको सिद्रा बजार

धरानको स्थापनाकालदेखि पुरानो बजारमा पुर्खाहरूले सुरु गरेको सिद्रा व्यापार आज यहाँका मानिसको जीवनशैलीसँग जोडिएको छ । यो जीविकोपार्जनको माध्यम मात्र होइन, परम्पराजस्तै बनिसकेको छ ।

आश्विन ७, २०८२

एलिना राई

Dharan's Sidra Bazar is a reminder of history

धरान — धरानको भानुचोकबाट पूर्वतर्फ आफ्नै संसारमा मग्न छ, माछाभौडी गल्ली । यहाँ बिहानदेखि साँझसम्मै सिद्राको बास्ना फैलिइरहेको हुन्छ । सडक छेउमा लस्करै बसेका व्यापारी विभिन्न प्रजातिका सिद्रा बेच्नैमा व्यस्त देखिन्छन् ।

धरानको स्थापनाकालदेखिको यहाँको पुरानो बजारमा पुर्खाहरूले सुरु गरेको यो व्यापार आज पनि यहाँका मानिसको जीवनशैलीसँग जोडिएको छ । यो जीविकोपार्जनको माध्यम मात्र होइन, परम्पराजस्तै बनिसकेको छ ।

यस ठाँउमा नेवार समुदायको बाजेबराजुले सडकमा नै सिद्रा व्यापार गर्दै आएका थिए । पुर्खाकै पेसालाई पछ्याउँदै सडकमै व्यापार गर्दै आएको सिद्रा व्यापारी प्रेम श्रेष्ठ बताउँछन् । 'यो पेसा कमाइको साधन त हो नै, हाम्रो पहिचान र पुर्खाको निसानी पनि हो,' यहाँका व्यापारीहरू भन्छन् । 

सटर भाडामा नलिई खुला आकाशमुनि नै सिद्राको कारोबार चल्ने गरेको छ । यो बजारले धरानको इतिहास र संघर्षको कथा पनि सुनाउँछ । 

०००

धरान उपमहानगरपालिकाकी देवकी खड्गी प्रत्येक बिहान ८ बजे घरबाट धरानको पुरानो बजारको माछाभौडी गल्ली आइपुग्छिन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । २७ वर्षदेखि निरन्तर यही पेसामा रमाइरहेकी उनी सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने बताउँछिन् ।

'सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले अहिले व्यापार कम भएको छ,' उनले भनिन्  । उनी सिद्रा प्रतिकिलो ६ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छिन् । ‘पहिला–पहिला त माछाहरू खोलानाला, नदीबाटै ल्याइन्थ्यो । पछिल्लो समयमा पोखरीमा पालेका माछाबाटै मात्रै सिद्रा बनाइन्छ,’ उनले भनिन् । दैनिक तीन हजारदेखि १० हजारसम्म सिद्रा बिक्री गर्दै आएकाले घर खर्च चलाउन सहज भएको उनले सुनाइन् । 

नेपालमा पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्ने उनको भनाइ छ । 'मैले नै वर्षमा २० क्विन्टलभन्दा बढी सिद्रा बिक्री गर्छु,' उनले भनिन् । धेरैजसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको छ ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोजसम्म उत्पादन हुन्छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने गरेका छन् ।

Dharan's Sidra Bazar is a reminder of history

मनका शाह पनि २० वर्षदेखि सिद्रा व्यापारमै संलग्न छिन् । उनले पुर्खाको पेसालाई नै निरन्तरता दिएको बताइन् । महिनामा सबै खर्च कटाएर ४० हजारसम्म बचत हुने उनको भनाइ छ ।

धरान–३ का प्रेम श्रेष्ठ पनि सडकमै हरेक दिन सिद्रा बेचेर आफ्नो दैनिकी गुजारा गर्दै आएका छन् । उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ । सिद्राको पारखीहरु टाढाटाढाबाट यहाँ सिद्रा किन्न आइपुग्ने गरेका छन् ।

उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन्  । 'पटासी, चेला, बामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बेच्छु,' उनले भने, 'तरकारी र अचार बनाएर खानका लागि सिद्रा बढि बिक्री हुने गरेको छ । यही व्यापारबाट उनले घरखर्च र छोराछोरीको स्कुल ‘फि’ बुझाउने गरेको छु ।'

सोही ठाउँमा प्रकाश शाहीले पनि सिद्रा बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका छन् । उनले दैनिक तीन केजीदेखि पाँच केजीसम्म सिद्रा बिक्री गर्छन् । खासगरी यहाँ छिमेकी देश भारतको नक्सलबारी, गोरखपुरबाट माछा ल्याइने उनको भनाइ छ ।

सिद्रा सिजनअनुसार १२ देखि १८ किसिमसम्मको पाइने गरेको उनले बताए । 'सबैभन्दा सस्तो ६ सयदेखि पाइन्छ भने महँगो १२ सय रुपैयाको झिँगे माछा हुन्छ,' उनले भने । उनका अनुसार यहाँ केचकी, माडा, मैथली, पोथी, लोली, बामला लगायतका माछाका सिद्रा बिक्री हुने गरेको छ । ‘पोथिया भने बाह्रमासै हुन्छ भने अन्य माछाहरू भने सिजनल हुन्छ,’ उनले भने ।

पहिले पहाडी जिल्लाबाट बजार भर्न धरान झर्ने चलन थियो । अहिले पनि सबैभन्दा बढी पहाडकै मानिसले सिद्रा किनेर लैजाने गरेको व्यापारी शाही बताँउछन् । स्वदेशमात्रै होइन हङकङ, बेलायतलगायतका देशसम्म सिद्रा पारखीहरुले कोसेलीमा लाने गरेको उनको भनाइ छ ।

सडकमा बेच्न राखिएको सिद्राले स्थानीय मानिसको दिनचर्या पनि बताउँछ । बिहानदेखि बेलुकासम्म सिद्रा बिक्री गर्ने व्यापारीको व्यस्तता, चहलपहल, ग्राहकको आउजाउले गल्लीलाई जीवन्त राखेको छ ।

तर, यस पेसासँग संघर्ष पनि कम छैन । बजार घट्ने, नयाँ व्यवसायको प्रतिस्पर्धा र मौसमको प्रभाव पार गर्दै उनीहरूले आफ्नो परम्परा र पेसालाई जोगाइरहेका छन्। धरानमा उनीहरु जस्तै सिद्राको व्यापार गर्ने व्यापारीको संख्या एक दर्जनभन्दा बढी छ । पछिल्लो समय यो ठाउँमा सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully