पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा रेस्मिकाको हत्या भएको प्रहरीले जनाएको छ ।
खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेस्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न उक्त गाउँपालिकाकै अन्दाजी १५–१६ वर्षीय एक किशोर बुधबार पक्राउ परेका हुन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई बलात्कारपछि हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए । उनलाई बिहीबार अदालतमा म्याद थप गरी अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।
‘हिजो नै पक्राउ गरी आज अदालतमा भ्याद थप गरी अनुसन्धान सुरु गरिन्छ,’मिश्रले भने । कार्यवाहक वडाअध्यक्ष सुवास प्रधानका अनुसार परियार ३० गते बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा केही तल फेला परेकी थिइन् । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा पोस्टमर्टम गरिएको छ ।
