भारतसँग जोडिएका भन्सार नाकाहरू सहज बन्दै गएको बेला कोशीका भन्सार कार्यालयहरूमा आन्दोलनकारीले तोडफोड गरेका छन्।
What you should know
विराटनगर — जेन–जी आन्दोलनका कारण करिब एक सातासम्म अवरुद्ध बनेका कोशी प्रदेशका भन्सार कार्यालयहरू क्रमशः लयमा फर्किँदै छन् । अन्य सरकारी कार्यालयझैँ भन्सारहरू पनि आन्दोलनकारीको मुख्य ‘तारो’ बनेका थिए ।
आन्दोलनकारीले कोशीका प्रमुख भन्सार कार्यालयमध्ये मेची र भद्रपुर भन्सारलाई पूर्ण रूपमा ध्वस्त मात्रै पारेनन्, कार्यालय र गोदामसम्म रित्याउने गरी लुटपाट मच्चाए । चाडपर्व नजिकिँदै गर्दा भारतसँग जोडिएका भन्सार नाकाहरू क्रमशः सहज बन्दै गएका हुन् ।
आयात–निर्यात व्यापारका हिसाबले कोशीको सबैभन्दा ठूलो विराटनगर भन्सारबाट मालवाहक ट्रक तथा कन्टेनरहरूको दैनिक जाँचपास सुरु भएको छ । आन्दोलनकारीले विराटनगर भन्सारलाई आंशिक क्षति पुर्याएका थिए । आन्दोलनका कारण गत २४ भदौदेखि पूर्ण रूपमा ठप्प यो भन्सारले गत शुक्रबारदेखि सेवा सुरु गरेको भन्सार प्रमुख उमेश श्रेष्ठले जनाए ।
‘आन्दोलनका कारण सयौँ कन्साइनमेन्ट नाकामा रोकिएका थिए, अहिले जाँचपास पछि छाड्ने काम भइरहेको छ,’ भन्सार प्रमुख श्रेष्ठले भने, ‘अब बिस्तारै लयमा फर्किँदै छौँ ।’
भन्सारका अनुसार आन्दोलनका कारण करिब १ हजार ५ सय बढी मालवाहक ट्रक तथा कन्टेनरहरू सीमा नाकामा रोकिएका थिए ।
पूर्वी सीमा नाका मेची भन्सार कार्यालयले सोमबारदेखि सेवा सुचारु गरेको छ । भन्सार प्रमुख हरिहर पौडेलका अनुसार आन्दोलनकारीले आगजनी र तोडफोड गरी पूर्ण रूपमा क्षति भएको कार्यालयमा बस्ने ठाउँ समेत छैन । बैठक कक्षलाई कार्यकक्ष बनाएर काम सुरु गरिएको छ ।
कार्यालयका २५ थान बढी कम्प्युटर लुटिएको थियो । त्यसर्थ मेचीनगर उद्योग वाणिज्य संघले केही थान कम्प्युटर उपलब्ध गराएको छ । अन्य उपकरण कार्यालयले आफैँले खरिद गरेको छ ।
भारतको दार्जिलिङका लोकसभा सांसद राजु विष्टले सोमबार भारतको पानीटंकी क्षेत्रबाट नेपाल–भारत अन्तरदेशीय व्यापार सहजीकरणको लागि आफूले पहल गरिरहेको जनाएका थिए । उनले पहिले आयात–निर्यात र पछि सर्वसाधारणको आवागमनमा समेत बिस्तारै सहजीकरण गरिने जनाएका थिए । उनले नेपालमा भएको आन्दोलनका कारण करिब एक सातामा भारतको सीमावर्ती क्षेत्रका व्यापारीहरूले करिब एक अर्ब (भारु) नोक्सानी व्यहोरेको समेत दाबी गर्दै भने, ‘अब बिस्तारै नाका सहज हुन्छ ।’
कोशीको तेस्रो ठूलो भद्रपुर भन्सारले समेत आइतबारदेखि व्यापार सहजीकरण गरेको छ । यो नाकाबाट निर्यात कम र आयात बढी हुन्छ । त्यसर्थ भारतबाट आयातित चाडपर्व लक्षित सामानहरूको जाँचपास सुरु भएको छ । भन्सार प्रमुख अर्जुनप्रसाद सिटौला भन्छन्, ‘कर्मचारीको घरमा भएको ल्यापटप ल्याएर बचेको एउटा कोठाबाट काम गरिरहेका छौँ ।’
इलामको पशुपतिनगर र सुनसरी भन्सार कार्यालय पनि सहज भएका छन् । यी भन्सारहरूबाट आयात–निर्यात खासै हुँदैन । त्यसर्थ राजस्व सङ्कलन समेत अत्यन्तै न्यून हुँदै आएको छ ।
