सामान्य बन्दै पूर्वी नाका, सुरु भयो आयात–निर्यात

सोमबार दिउँसोबाट आयात–निर्यात सुरु भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

भाद्र ३१, २०८२

नवराज सुवेदी

झापा — जेनजी आन्दोलनपश्चात् पूर्ण रूपमा ठप्प बनेको पूर्वी नाकामा बिस्तारै आवागमन सहज बन्दै गएको छ । घरायसी सामान लिनका लागि मानिसहरू भारततर्फ गइरहेका छन् भने नाकामा बाक्लिँदो चहलपहल देख्न सकिन्छ ।

एक सातादेखि ठप्प यो नाका क्रमिक रूपमा सहज बन्दै गएको नाकामा भेटिएका नागरिकले बताएका छन् । नाकामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । यद्यपि, मेची पुलमा सिटी सफारी (ई–रिक्सा)हरूलाई भने रोक लगाइएको छ । सिटी सफारीका कारण मेचीको पुल नै अस्तव्यस्त हुने भएकाले रोक लगाइएको जनाइएको छ ।

‘पैदल हिँडेर पारिपट्टि जान, नेपाल आउन रोकिएको छैन । तर, भन्सारको यात्रु शाखा आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि भारतबाट आउने भारतीय गाडी भने आउन सकेका छैनन्,’ नाकामा खटिएका एक वरिष्ठ सुरक्षा अधिकारीले भने, ‘यात्रु शाखा नै ध्वस्त भएकाले भारतीय गाडीले काट्ने सुविधा सुरु भएको छैन ।’

उनका अनुसार पैदल आवागमन खुकुलो भए पनि चेकजाँचमा भने कडाइ गरिएको छ । भारतीय एसएसबीसँगै समन्वय गरेर चेकजाँचमा कडाइ गर्ने काम भइरहेको उनले जनाए । ‘नाका सहज बन्दै गए पनि चेकजाँचमा भने कडाइ गरिएको छ । नेपालबाट भारत जाने तथा भारतबाट नेपालतर्फ आउने सबैको परिचय–पत्र जाँच गर्ने काम गरिरहेका छौं,’ उनले भने ।

आयात–निर्यात सहज बन्दै

आन्दोलनकै कारण ठप्प बनेको पूर्वी नाकाबाट आयात–निर्यात पनि सुरु भएको छ । गत भदौ २४ गते भएको आगजनीका कारण भन्सार कार्यालय पूर्ण रूपमा जलेर नष्ट हुँदा पूर्वी नाकाबाट आयात–निर्यात ठप्प थियो ।

तर, सोमबार दिउँसोबाट आयात–निर्यात सुरु भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । कार्यालयको एकातर्फको हलमा काम गर्ने स्थान बनाएर काम सुरु गरिएको उनले बताए ।

यससँगै भन्सारमा सवारी आवागमन बढेको र भारतले सवारीसाधन पठाउन थालेको उनले जानकारी दिए । ‘भन्सार कार्यालयको पहिलो तला त क्षतविक्षत नै थियो । कार्यालयको दोस्रो तलामा पनि क्षति भएको थियो । यद्यपि त्यस क्षतिलाई सरसफाइ गरेर मिटिङ हलबाट काम सुरु गरेका हौं,’ सूचना अधिकारी हुमागाईंले भने, ‘अहिले नेपालतर्फबाट पनि सामान निर्यात भइरहेको छ भने भारतबाट पनि आयात भइरहेको छ ।’

नवराज

Link copied successfully