कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रानी–जोगबनी, सुनसरीको भण्टाबारी–भीमनगर, इलामको पशुपतिनगर–सुकेपोखरी, झापाको भद्रपुर–गलगलीया र काँकडभिट्टा–पानीटंकी नाका क्रमशः खुकुलो बन्दै गएका हुन् ।
What you should know
विराटनगर — जेन–जी आन्दोलनका कारण बन्द रहेका नेपाल–भारत सीमा जोड्ने कोशी प्रदेशका पाँच नाका क्रमशः खुकुलिन थालेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रानी–जोगबनी, सुनसरीको भण्टाबारी–भीमनगर, इलामको पशुपतिनगर–सुकेपोखरी, झापाको भद्रपुर–गलगलीया र काँकडभिट्टा–पानीटंकी नाका क्रमशः खुकुलो बन्दै गएका हुन् ।
पाँचमध्ये दुई नाका भारतको पश्चिम बंगालसँग सीमा जोडिन्छ । भद्रपुर विहार र बंगाल दुवै राज्यसँग नाका जोडिएको छ भने रानी र भण्टाबारीले बिहारसँग सीमा साझा गर्छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले सबै नाकाहरू ‘नियन्त्रित सुचारु’ भएको दाबी गरे । पोखरेलले भने,‘पुरानै लयमा फर्किएका त छैनन् तर बिस्तारै अवस्था सहज भएपछि नाका पूर्ण रूपमा खुल्दै जाने छन् ।’
उनका अनुसार सबै नाकाहरूबाट सर्वसाधारण आवतजावत पनि सुरु भएको छ । काँकडभिट्टा, जोगबनी, भद्रपुर लगायतका ठूला भन्सार नाकाबाट आयात निर्यात समेत सुरु भएको छ ।
आन्दोलनका कारण काँकडभिट्टाको मेची भन्सार र भद्रपुर भन्सार पूर्ण रूपमा क्षति भएको छ । विराटनगर भन्सारले आंशिक क्षति व्यहोरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले काँकडभिट्टा र भद्रपुर नाकाबाट आयात निर्यात सुरु भएको जनाए । पेट्रोलियम पदार्थ, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र अन्य वस्तुहरू भारतबाट भित्रिरहेका छन् । तर सीमा क्षेत्रमा देखिएको तनाव र असुरक्षाको कारण देखाउँदै भारतीय अर्ध सैनिक बल (एसएसबी) भने नाकामा कडाई गरिरहेकै छ ।
‘बिरामी, हवाई यात्रा गर्ने यात्रीहरुका लागि नाका खुला छ’, प्रजिअ अधिकारीले भने,‘अन्यलाई तत्काल नाका सहज छैन । बिस्तारै सहज गर्ने योजनामा हामी छौँ ।’
खासगरी पश्चिम बंगाल सरकारकै कारण काँकडभिट्टा नाका अझै केही समय पूर्ण रूपमा सहज हुन नसक्ने देखिएको छ । पश्चिम बंगाल राज्य सरकारले यो नाकालाई बढी निगरानी गरिरहेको छ । जेन–जीको आन्दोलनपछिको प्रदर्शनपछि बंगालका राज्यपाल सीवी आनन्द बोस नेपाल–भारत सीमा नाकाको अनुगमनमा आएका थिए । उनको भ्रमणपछि बंगालको सुरक्षा संयन्त्रले पूर्ण रूपमा नाका सञ्चालनका लागि केही समय लाग्ने संकेत गरेको थियो ।
‘यो चिकेन नेक क्षेत्र पनि भएकाले धेरै संवेदनशील छ । नाका सहज हुन अझै केही समय लाग्न सक्छ’, एक भारती सुरक्षा अधिकारीले सञ्चारमाध्यमहरुसँग भने ।
पशुपतिनगर, जोगबनी नाका र सुनसरीको भण्टाबारी नाका आइतबारबाट सहज भएको हो । यी नाकाहरूमा आउजाउ पनि बाक्लिन थालेको छ । किनमेलका लागि पारि जाने र उताबाट उपचारका लागि आउनेहरूको संख्या पनि थपिँदै गएको सुरक्षा निकायले जनाएको छ ।
मेची भन्सार प्रमुख भन्छन्, ‘खरानी टक्टक्याएर उठ्दैछौँ’
गत मंगलबार, जेन–जी समूहको नाममा अराजक भीडले गरेको आन्दोलनका क्रममा झापाका धेरै पालिका, सरकारी कार्यालय र जनप्रतिनिधिहरूका घरमा आगजनी र तोडफोड गरियो । त्यही क्रममा पूर्वी नाकाको व्यस्त मेची भन्सार कार्यालयसमेत त्यो भीडको तारो बन्यो ।
भन्सार प्रमुख हरिहर पौडेल घटनास्थल हेर्दा सपना जस्तो लागेको अनुभव सुनाउँछन् । ‘कार्यालयमा अब खरानी मात्र बाँकी छ,’ उनी भन्छन् । उनका अनुसार कम्प्युटर छैन, अभिलेख छैन, काम गर्न बस्ने कुर्सी पनि छैन । ‘अब यहाँबाट काम कसरी सुरु गर्ने भन्ने अन्योलको अवस्था छ’, उनी भन्छन् ।
भन्सारको प्रशासनिक भवन, दुई वटा गोदाम, यात्रु शाखा र एसियन हाईवेमै रहेको जाँच केन्द्र साथै भन्सार एजेन्टहरूको कोठा सबै क्षतिग्रस्त भएका छन् । कार्यालयमा रहेको सम्पूर्ण सामान गाडी, कम्प्युटर, एयर कन्डिसनर, गोदाममा संकलित रक्सी र निर्यातका लागि राखिएको चिया र कफी लुटिएका छन् । जलेर खरानी भएका छन् ।
भन्सार कार्यालयका अनुसार कार्यालय प्रमुखले चढ्नेसहित लिलाम गर्न राखिएका २५ वटाभन्दा बढी गाडी जलाइएको छ । कार्यालय भित्र रहेका २५ थान कम्प्युटर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
कार्यालय परिसरका १७ थान एसी जलेको छ । विभिन्न समयमा बरामद गरिएका अवैध रूपमा भित्र्याइएका आधा कन्टेनर रक्सी गोदाममा थियो त्यो पनि चोरिएको छ । तेस्रो देश निर्यातका लागि राखिएका डेढ कन्टेनर चिया तथा करिब २ करोड मूल्यको कफी लुटिएको छ । टिभी, फ्रिज, कुर्सी टेबलहरूसमेत लुटिएको भन्सार स्रोतले जनाएको छ ।
प्रमुख पौडेल भन्छन्, ‘मेरो कोठाको कमोडसमेत बाँकी राखेनन् ।’
मुख्य जिल्ला अधिकारी गोपाल अधिकारी र प्रहरी प्रमुख राजन लिम्बुसहितको टोलीले घटनास्थल अवलोकन गरेका छन् । प्रशासनले क्षतिको प्रारम्भिक लेखाजोखा तयार गर्ने काम सुरु गरेको छ तर वास्तविक दृश्य देख्दा कहालीलाग्दो रहेको एक कर्मचारी बताउँछन् ।
आगजनीले कार्यालय मात्र होइन, प्रशासनिक कामकाज र व्यापारिक गतिविधिसमेत ठप्प बनाएको छ । भन्सार कर्मचारीहरू अब कसरी सेवा सुचारु गर्ने भनेर अन्योलमा छन् । प्रमुख पौडेल भन्छन्, ‘हामीसँग अब खरानी मात्र बाँकी छ, कसरी काम गर्ने भनेर चिन्तामा छौँ ।’
