झुम्का कारागारबाट भागेका मध्ये १ हजार २९७ कैदीबन्दी अझै फरार

भाद्र २९, २०८२

अर्जुन सुवेदी

सुनसरीको झुम्का कारागारबाट मङ्गलबार राति भागेका एक हजार ५ सय ७५ जना कैदी बन्दी मध्ये १ हजार २ सय ९७ जना अझै फरार रहेका छन् ।

मङ्गलबार राति प्रदर्शनकारी कारागारमै पुगेर कैदीबन्दीलाई भगाएका थिए । कारागार प्रशासनका अनुसार मङ्गलबार राति साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० को हाराहारी कैदी भागेका थिए । प्रहरी प्रशासन विस्थापित भइसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले १ हजार ५ सय ७५ जना भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

अहिले कारागारमा ४ सय ९९ जना मात्र कैदीबन्दी रहेको कारागारका जेलर सुवास कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार फरार भएका कैदीका आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरिएको छ । प्रशासनले पनि खोजी अभियान चलाएको जनाएको छ ।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ मा गरी १ हजार ७ सय ९९ जना कैदी रहेका छन् । तीमध्ये ३ जना अस्पतालमा उपचाररत रहेको जेलर लामिछानेले बताए ।

अर्जुन सुवेदी

Link copied successfully