सुनसरी — जेन-जी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएको मौका छोरी पूर्वमा लागुऔषध गाँजाको तस्करी गर्ने क्रम बढेको छ ।
यस क्रममा सशस्त्र प्रहरी बलको टोलीले गएराति सुनसरीको इटहरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इटहरी-५ स्थित स्यार्सेकाली पेट्रोल पम्मअगाडि पार्किङ गरेर राखिएको २ वटा ट्रकबाट ५ हजार केजी गाँजा बरामद गरेको छ ।
नियमित गस्तीका क्रममा रहेको सशस्त्र प्रहरी टोलीले पार्किङ गरेर राखिएको २ वटा ट्रकबाट १ सय ५८ वटा बोरामा प्याक गरिएको ५ हजार केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल वराह वाहिनी मुख्यालय पकलीका वरिष्ठ प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । थापाका अनुसार ना ४ ख २९०१ नम्बरको ठूलो ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकबाट ३४ बोरा गाँजा बरामद भएको हो ।
चालक भने फरार छन् । बरामद गाँजा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने तयारी भएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।
उता गएराति नै विराटनगर–१५ पेट्रोल पम्प नजिकैबाट प्रहरीले बन्दाकोभी लोड गरेको बोलेरो गाडीबाट २ सय ६२ किलो गाँजा बरामद भएको छ । तीन जना पक्राउ परेका छन् । चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
-1757834444-1000x0.jpg&w=1001&h=0)