कोशी प्रदेशसभा भवनमा भीषण आगजनी, विराटनगरको अवस्था नियन्त्रणबाहिर

जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शन तीव्र भएपछि प्रहरीले कडा सुरक्षा घेराबन्दी गरे पनि आक्रोशित भीडले देवकोटा चोकस्थित प्रदेशसभा भवनमा प्रवेश गरी सभाहलमा आगो लगाएका हुन् ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

विराटनगर — कर्फ्यू आदेशको अवज्ञा गर्दै आन्दोलनकारीले मंगलबार विराटनगरस्थित कोशी प्रदेशसभा भवनमा भीषण आगजनी गरेका छन् । जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शन तीव्र भएपछि प्रहरीले कडा सुरक्षा घेराबन्दी गरे पनि आक्रोशित भीडले देवकोटा चोकस्थित प्रदेशसभा भवनमा प्रवेश गरी सभाहलमा आगो लगाएका हुन् ।

आगजनीपछि प्रदेशसभाको सभाहल दनदनी बलिरहेको छ। सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिन धेरै प्रयास गरे पनि प्रदर्शनकारीको संख्याले सुरक्षावललाई निस्तेज बनाएको छ। अहिले पनि भवनभित्रबाट बाक्लो धुवाँ निस्किरहेको छ ।

यसअघि बिहानैदेखि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच प्रदेशसभा भवन अगाडि झडप हुँदै आएको थियो । तर दिउँसोको समयसम्ममा आक्रोशित समूहले सुरक्षाकर्मीलाई पन्छाउँदै भवनभित्र छिरेर तोडफोडसँगै आगजनी गरेका हुन्।

प्रदेशसभा भवनसँगै आन्दोलनकारीले नेकपा एमालेको पाञ्चालीस्थित पार्टी कार्यालय र ट्राफिक चोकमा रहेको आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् । विराटनगरको अधिकांश बजार क्षेत्र नियन्त्रणबाहिर पुगेको छ ।

सोमबारदेखि देशभर फैलिएको जेन–जी आन्दोलनमा सरकारले गरेको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारी अझ आक्रामक बनेका छन्। विराटनगरमा लगाइएको कर्फ्यूको पूर्ण अवज्ञा गर्दै हजारौं आन्दोलनकारी चोक–चोकमा सडक प्रदर्शन गरिरहेका छन्।

कान्तिपुर

Link copied successfully