इटहरीमा भएको विरोध प्रदर्शनमा गोली हान्न आदेश दिने अधिकारीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीले मंगलबार पनि सडक प्रदर्शन जारी राखेका छन्।
सुनसरी — कर्फ्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शन सुरु भएको छ । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । तर त्यसलाई अवज्ञा गर्दै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा आएका छन् ।
प्रदर्शनकारीले सोमबार जेनजीको आन्दोलनमा गोली हान्न आदेश दिनेलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीले गोली हान्ने आदेश कसले दियो भन्दै नाराबाजी पनि गरिरहेका छन् ।
मंगलबार बिहानैदेखि ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले यतिबेला इटहरीका विभिन्न गल्लीमा नाराबाजी गरिरहेका छन् ।
हिजो भएको प्रदर्शनमा इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको थियो ।
