झुम्का कारागारमा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा फैलिएको पुष्टि

कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी कैदीबन्दी बिरामी भएका थिए । अहिले पनि केही कैदीबन्दी विभिन्न अस्पतालमा उपचाररत छन् ।

भाद्र २२, २०८२

अर्जुन सुवेदी

Confirmation of outbreak of scrub typhus, dengue and influenza in Jhumka Jail

What you should know

सुनसरी — चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएको सुनसरीको झुम्का कारागारमा विभिन्न तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएको छ ।

उच्च ज्वरो, श्वासप्रश्वास र वान्ता हुने लक्षणबाट कैदीबन्दी बिरामीको मृत्यु भएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर चलाएर ६३ जनाको रगतको नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । 

प्रतिष्ठानको प्रयोगशालाबाट कैदीबन्दीमा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए । केही कैदीबन्दीमा जापनिज इन्सेफ्लाइटिसको आशंका गरिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । 

कारागारमा स्वास्थ्य परीक्षणका खटिएका चिकित्सकले भाइरल ज्वरोको आशंका गरे पनि यी तीन वटा रोग देखिएको पुष्टि भएपछि अब त्यहीँ अनुसार परीक्षण तथा उपचार व्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । 

कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु र ३ सय बढी कैदीबन्दी बिरामी भएका थिए । अहिले पनि केही कैदीबन्दी विभिन्न अस्पतालमा उपचाररत छन् । १६ सय क्षमता रहेको झुम्का कारागारमा 'ए' र 'बी' गरी दुवै ब्लकमा १ हजार ७ सय ९८ जना कैदीबन्दी छन् ।

चिकित्सकका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग पशुचौपायामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्छ । यो रोग ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । यो जीवाणु मुसाको शरीरमा पाइने माइटमा हुन्छ । संक्रमित किराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ ।

यो रोग संक्रमित किराको टोकाइबाट मानिसमा सर्ने विराट शिक्षण अस्पतालका चिकित्सक डा. देवराज घिमिरेले जानकारी दिए । स्क्रब टाइफस भएको व्यक्तिले उपचार गर्न ढिला गरे ज्यानै जाने खतरा हुने डा. घिमिरेले बताए । यस्तै, लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग डेंगी घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्ने चिकित्सक घिमिरेले बताए । घिमिरेले इन्फ्लुन्जा भाइरस संक्रमित व्यक्तिले हाच्छ्यु गर्दा, कुरा गर्दा वा खोक्दा हावाको माध्यमबाट भाइरस सर्छ ।

अर्जुन

Link copied successfully