उनीमाथि सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
खोटाङ — भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका नेपाली कांग्रेस खोटाङका सदस्य श्यामकुमार राईले जिल्ला प्रहरी कार्यालय खोटाङमा शुक्रबार आत्मसमर्पण गरेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राईले गत भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध गरी भरुवा बन्दुक देखाएर रकम असुल्न खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार प्रहरीमा उपस्थित भएपछि पहिलोचोटिलाई सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान बढाइएको छ । उनीविरुद्ध गत भदौ १८ गते डाका उद्योगसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरिएको विष्टले बताए । ‘आज प्रहरी कार्यालयमा हाजिर हुनुभयो, त्यसपछि सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ,’ विष्टले भने ।
