भारतको जीएसटी परिमार्जन निर्णयको असर नेपाली बजारमा

जीएसटी दर परिमार्जन गर्ने निर्णयले नेपालमा प्रयोग हुने दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ र उद्योगधन्दामा प्रयोग हुने सरसामानमा प्रत्यक्ष असर पर्ने विराटनगरका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Impact of India's GST revision decision on Nepali market

What you should know

विराटनगर — भारत हालै सम्पन्न ५६ औं वस्तु तथ सेजा कर (जीएसटी) परिषद्‍को बैठकले करको दर परिमार्जन गरेको छ । विभिन्न वस्तुहरुमा ५, १८ र ४० प्रतिशतसम्म कर हेरफेर गरिएको थियो । 

जीएसटी दर परिमार्जन गर्ने निर्णयले नेपालमा प्रयोग हुने दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ र उद्योगधन्दामा प्रयोग हुने सरसामानमा प्रत्यक्ष असर पर्ने विराटनगरका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । आगामी असोज ६ बाट यो नियम लागू हुँदैछ। 

मोरङ उद्योग वाणिज्य संघले बिहीवार विज्ञप्ति जारी गर्दै गम्भीर चासो व्यक्त गरेको छ । 'भारतको नयाँ जीएसटी व्यवस्थाले नेपाली बजारमा करिब १८ देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि हुने सम्भावना रहेको छ', विज्ञप्तिमा भनिएको छ । 

संघका अनुसार पेट्रोलियम पदार्थ, चिनी, गहना, खाद्यान्न, वस्त्र, जुत्ता, इलेक्ट्रोनिक सामान लगायतका आयातित वस्तुहरू महँगो हुने भएकाले नेपाली उद्योग, व्यवसाय र उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्नेछ। संघका अनुसार नेपालले भारतबाट आयात गर्ने वस्तुहरूमा उच्च कर लागू भएपछि तस्करी बढ्ने, अवैध कारोबार तीव्र हुने र नेपाली उत्पादनमा प्रतिस्पर्धात्मक क्षमतामा गिरावट आउने सम्भावना छ। यसले विशेषगरी दैनिक उपभोग्य वस्तु, स्टेशनरी, कपडा, फुटवेयर, एफएमसीजी, इलेक्ट्रोनिक्सलगायतका क्षेत्रमा मूल्यवृद्धि र अभावको समस्या निम्त्याउने संघको दाबी छ ।

संघले भारतीय जीएसटीको असर न्यूनिकरण गर्न नेपाल सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। 

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा ल्याउन सरकारले कडाइ गर्नुपर्ने बताए। उनका अनुसार भारतीय कर वृद्धिले गर्दा अवैध व्यापार बढ्ने र त्यसले राज्यको राजस्वमा ठूलो क्षति पुर्‍याउने जोखिम छ। 

कान्तिपुर संवाददाता

Link copied successfully