कोशी प्रदेश र स्थानीय तहको करिब १३ करोड १६ हजार चार सय ६९ रूपैयाँको लागतमा एक सय १० फिट अग्लो सालिक बनाइएको हो ।
What you should know
खोटाङ — अधिकांश योजनाहरू सम्पन्न हुनेसाथ उद्घाटन गर्ने हतारो हुन्छ । तर करौडौं खर्च गरेर बनाइएको एक सय १० फिट अग्लो यलम्बरको सालिक उद्घाटनमा भने कुनै चासो छैन ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा निर्माण गरिएको सालिक उद्घाटनका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
‘पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सालिक बनाइएको हो तर उद्घाटन नै नहुने भयो,’ स्थानीय धनबहादुर श्रेष्ठले बताए । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत जेठ १८ गते उद्घाटन गर्ने कार्यक्रम राखिए पनि किरात राई यायोक्खाको अवरोधका कारण रोकिएको थियो ।
यायोक्खाका केन्द्रीय समितिले पहिचान विरोधीबाट उद्घाटन गर्न नहुने भन्दै नगरपालिकालाई पत्राचार गरेको थियो । मुख्यमन्त्री कार्कीको प्रदेशको नीति तथा कार्यक्रमका कारण समय अभाव देखाउँदै उद्घाटन स्थगित गरिएको थियो ।
त्यसपछि पछिल्लो अवधिमा उद्घाटनको चर्चा नै हुन छाडेको छ । यायोक्खाले पत्र पठाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडा नं १४ का वडाअध्यक्ष दिनेश राई र किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई बीच छलफल भए पनि सहमति हुन नसकेको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।
यद्यपि आगामी असोजभित्र उद्घाटन गर्ने योजना बनाइएको साउन ३० गते आयोजित पत्रकार सम्मेलनमा भट्टराईले बताएका थिए । कोशी प्रदेश र स्थानीय तहको करिब १३ करोड १६ हजार चार सय ६९ रूपैयाँको लागतमा एक सय १० फिट अग्लो सालिक बनाइएको हो ।
१८ महिनाभित्र सक्ने गरी उमा तुवाचुङ अन्सुली जेभीले २०७८ असार २८ गते सम्झौता गरेको थियो । तर सम्झौतामा उल्लेख भए अनुसार काम गर्न नसकेपछि पटक–पटक गरी २०८२ असोज १८ गतेसम्म सक्ने गरी म्याद थप गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार योजनामा १० करोड १० लाख ३८ हजार तीन सय ४३ रूपैयाँ भुक्तानी भएको भएको छ । अब दुई करोड ८९ लाख ७८ हजार एक सय २५ रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको भट्टराईले बताएका छन् ।
उक्त भुक्तानीको लागि चालु आर्थिक वर्ष दुई करोड ८५ लाख रूपैयाँ कोशी प्रदेशले पठाइसकेको समेत भट्टराईले सुनाएका छन् । उक्त रकम अब तत्काल भुक्तानी गरिने भट्टराईले बताए । ‘अन्तिम रनिङ बिल आएपछि बाँकी रकम भुक्तानी हुन्छ,’ भट्टराईले भने ।
नगर उपप्रमुख विसन राईले भने उक्त संरचना निर्माण भइनसकेको र कोशी प्रदेशको दायित्व अनुसार बजेट पनि नआइसकेकाले उद्घाटन ढिलाई भएको बताएका छन् । अब भने बजेट पनि आइसकेकाले निकासा हुना साथ उद्घाटन गरिने राईको भनाइ छ ।
