पुस्तकालय भवन निर्माणमा करिब ३ करोड ३३ लाख २८ हजार रुपैयाँ खर्च भएको छ ।
What you should know
संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिका–मुढे बजारमा नवनिर्मित धर्मदेवी सामुदायिक बहुउद्देश्यीय पुस्तकालय तथा स्रोत केन्द्र आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
पुस्तकालय दिवसकै अवसर पारेर आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पुस्तकालयको उद्घाटन गरे।
मन्त्री राईले पुस्तकालय सञ्चालनमा आउनुले ग्रामीण क्षेत्रमा पनि अध्ययन संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे । उनले भने, 'पुस्तकालय मार्फत ग्रामीण क्षेत्रमा समेत पढ्ने बानीको विकास हुन्छ, जसले शिक्षित र सचेत समाज निर्माणमा योगदान पुर्याउँछ ।' उनले पुस्तकालयलाई शिक्षासँगै सीप विकास र स्थानीय चेतना अभिवृद्धिको केन्द्रका रूपमा उपयोग गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले पुस्तकालयले शिक्षा मात्र नभई स्थानीय संस्कृतिको संरक्षण र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने भूमिकासमेत निर्वाह गर्ने बताए ।
पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष भीम लिङखाले पुस्तकालयमार्फत महिला सशक्तीकरण, युवा क्षमता विकास, व्यावसायिक सीप तालिम, कम्प्युटर तालिम, कृषि तथा पशुपालन प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।
धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले पुस्तकालयमा विपद् व्यवस्थापनसम्बन्धी कक्ष, बालमैत्री कक्ष, सूचना प्रविधि तालिम, हस्तकला तथा स्थानीय संस्कृति प्रवर्द्धनसम्बन्धी गतिविधि समेत सञ्चालन गरिने उल्लेख गरे ।
रीड नेपालका उपनिर्देशक चीनकाजी श्रेष्ठले पुस्तकालयमार्फत स्वास्थ्य, कृषि उत्पादन र पशुपालनमा देखिएका समस्या समाधान गर्न सामाजिक परिचालकमार्फत काम गरिने जानकारी दिए। उनले पुस्तकालयलाई समुदायको समस्या समाधान गर्ने साझा केन्द्रका रूपमा अघि बढाइने बताए ।
शान्ति भोलेन्टियर संस्था, रिड नेपाल, कोशी प्रदेश सरकार, धर्मदेवी नगरपालिका र स्थानीय समुदायको सहकार्यमा बनेको पुस्तकालय भवन निर्माणमा करिब ३ करोड ३३ लाख २८ हजार रुपैयाँ खर्च भएको छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा विभिन्न जातीय समूहले सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेर वातावरणलाई उत्सवमय बनाएका थिए ।
