काठमाडौं र तराईका विभिन्न जिल्लामा बसोबास गर्ने लाभग्राहीलाई लक्षित गरी विशेष शिविर आयोजना गरिएको छ।
What you should know
खोटाङ — जिल्लास्थित विभिन्न स्थानीय तहहरूले संघीय राजधानी काठमाडौं तथा तराईका जिल्लाहरूमा बसोबास गर्ने लाभग्राहीलाई लक्षित गरी एकीकृत सेवा शिविर सञ्चालन गरेका छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेसी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका लगायतले शिविर सञ्चालन गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंको सिनामङ्गलस्थित होटल जन्मभूमिमा बुधबारदेखि चार दिने शिविर सुरु गरेको छ । शुक्रबारसम्म दुई सय ७८ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको शिविरमा सहभागी नगरपालिकाकी श्रीदेवी राईले बताएकी छन् ।
काठमाडौंमा सञ्चालन गरिएको शिविरमा वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई र वडा नं–१४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राईको समन्वयमा शिविर आयोजना गरिएको हो ।
सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीलाई उनीहरू बसिरहेकै ठाउँमा सेवा प्रदान गर्न शिविर आयोजना गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन् । तराईका विभिन्न जिल्लामा रहेका लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकामा भदौ–१६ देखि १९ गतेसम्म सञ्चालन गरिने घिमिरेले जनाएका छन् ।
उक्त शिविरमा वडा नं.–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायत र वडा नं. ५ लर्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले समन्वय गरिरहेको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाका करिब ६ सय बढी लाभग्राही काठमाडौंमा रहेकाले ४ दिनसम्म शिविर जारी राख्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै ऐसेलुखर्क गाउँपालिकाले काठमाडौं र तराईका विभिन्न जिल्लामा बसोबास गर्नेलाई लक्षित गरी इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविर तीन सय २० सेवाग्राहीले सेवा पाएका छन् ।
काम विशेषले गाउापालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि गत साउन–२७ र २८ गते काठमाडौंस्थित चाबहिलको फुजी एकेडेमीमा तथा भदौ–१ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताएका छन् ।
शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको हो । त्यसैगरी केपिलासगढी गाउँपालिकाले काठमाडौंको सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा भदौ–१० र ११ गते दुई दिने शिविरमा ४३ जना महिला र ३८ जना पुरुष गरी ८१ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताएका छन् ।
उक्त शिविरमा ४३ जना सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै मालपोत कर सङ्कलन समेत गरिएको राईले बताएका छन् । त्यस्तै रावाबेसी गाउँपालिकाले भदौ–५ र ६ गते सामाजिक सुरक्षाभत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ ।
शिविरमा तीन सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिरिराज रानामगरले बताएका छन् । उक्त शिविरमा एक सय ७४ जनाको सामाजिक सुरक्षाभत्ता नवीकरण, ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण, १३ जनाको जन्मदर्ता, तीन जनाको मृत्युदर्ता, ९ जोडीको विवाहदर्ता, दुई जोडीको सम्बन्ध विच्छेद, ९ जनाको बसाइसराइ, ५ जनाको नागरिकताको सिफारिस, ३८ जनाको सामान्य सिफारिस, एक जनाको नाबालक परिचयपत्र र ४ जनाको सामाजिक सुरक्षाभत्ता नयाा दर्ता गरिएको छ ।
जन्तेढुङ्गा गाउापालिकाले पनि भदौ–१६ र १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेस ब्याङ्क्वेटमा, भदौ–१९ र २० गते उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित सिटीहलमा र भदौ–२४ र २५ गते काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
