दिगो फोहोरमैला व्यवस्थापनतर्फ कोशी प्रदेशको फड्को

मोरङ र इलामका ६ पालिकासँग समझदारी

भाद्र १३, २०८२

पर्वत पोर्तेल

Koshi Province's leap towards sustainable waste management

What you should know

विराटनगर — फोहोरमैलाई बोझ होइन, स्रोत बनाउने उद्देश्यसहित कोशी प्रदेशले दिगो फोहोरमैला व्यवस्थापनमा ऐतिहासिक कदम चालेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले मोरङ र इलामका छ वटा स्थानीय तहसँग समझदारी गरेर प्रदेशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने अभियान थालनी गरेको हो ।

सम्झौतामा मोरङ जिल्लाका रङ्गेली, सुनवर्षी, कानेपोखरी, धनपालथान र इलामका सूर्योदय नगरपालिका तथा रोङ गाउपालिका सामेल छन् । रणनीतिक साझेदारीअन्तर्गत मोरङका चार पालिकाको फोहोर व्यवस्थापन रङ्गेलीमा हुने छ भने इलामका दुई पालिकाको फोहोर प्रशोधन सूर्योदयमा केन्द्रित हुनेछ । ‘यो साझेदारीको प्रमुख उद्देश्य भनेको प्रदेशभर दिगो र वातावरणमैत्री आधुनिक फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गर्नु हो’,भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले भने । 

नेपालको संविधानको धारा ५७ अनुसार सरसफाइसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्याभूत छ । त्यसलाई मूर्तरूप दिन कोशी प्रदेशले २०७७ सालमै फोहोरमैला व्यवस्थापन नीति बनाएको थियो । यो सम्झौता त्यही नीतिलाई व्यवहारमा उतार्ने ठोस प्रयासका रूपमा आएको मन्त्री राईले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालय यस परियोजनाको मुख्य कार्यान्वयनकर्ता हुनेछ । 

मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्यांकन गर्ने बजेटको व्यवस्थाका लागि आवश्यक प्राविधिक सहयोग र पूर्वाधार विकासमा हातेमालो गर्ने मन्त्रालयका निमित्त सचिव रमेश श्रेष्ठ बताए । उनले भने, ‘प्रदेश सरकारले एउटा केन्द्रका लागि ५ करोड रुपैयाँसम्म लागत व्यहोर्नेछ । स्वीस कन्ट्याक्ट परियोजनाले थप २ करोड रुपैयाँ सहयोग गर्नेछ । बाँकी रकम स्थानीय तहले जुटाउनेछन् । ’

साझेदार पालिकाहरूले जग्गा व्यवस्थापन, जनचेतना अभिवृद्धि, फोहोरको पृथकीकरण, संकलन र प्राथमिक प्रशोधनमा सक्रिय भूमिका खेल्नेछन् । परियोजनालाई सहज बनाउन संयुक्त कार्यसमिति गठन गरिनेछ, जसमा प्रत्येक सहभागी पालिकाका प्रतिनिधिहरू रहनेछन् ।

समितिले कार्यान्वयनको प्रगति समीक्षा गर्ने, समस्या समाधान गर्ने, जनस्तरमा परियोजनाको प्रभावकारिता सुनिश्चितलगायत गतिविधि गर्ने छ । परियोजनाअनुसार दुईवटा मुख्य फोहोर प्रशोधन केन्द्र र ल्यान्डफिल साइट निर्माण गरिनेछ ।

फोहोर व्यवस्थापनको यो एकीकृत मोडेलले पुनःप्रयोग, प्रशोधन र सुरक्षित विसर्जनलाई प्राथमिकता दिने रंगेली नगरपालिका मेयर दिलीप बगोडियाले बताए । ‘यसबाट प्रदेशको वातावरणीय स्वच्छता र सार्वजनिक स्वास्थ्यमा क्रान्तिकारी सुधार आउने अपेक्षा गरिएको छ’, उनले भने ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यो परियोजना तत्काल सुरु हुनेछ । पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । त्यसपछि निर्माण अघि बढ्नेछ । प्रदेश सरकारले प्रारम्भिक लगानीमा हात हालिसकेको छ भने स्वीस कन्ट्याक्टको सहयोगले परियोजनालाई गति दिनेछ ।

‘फोहोरलाई समस्या होइन, सम्भावनाका रूपमा हेर्ने दृष्टिकोणले यो साझेदारी कोशी प्रदेशमा दिगो विकासको नयाँ उदाहरण बन्ने अपेक्षा गरिएको छ,’ भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले भने ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully