आमसञ्चार विधेयकविरुद्ध कोशी प्रदेशसभा अगाडि प्रदर्शन

विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई बढीमा डेढ लाख रुपैयाँसम्मको दण्ड र जरिवाना गर्ने व्यवस्था राखिएको छ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Demonstration in front of the Koshi State Assembly against the Mass Communication Bill

विराटनगर — कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चार विधेयकविरुद्ध विराटनगरका पत्रकारहरूले शुक्रबार कोशी प्रदेशसभा अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा भएको यो प्रदर्शनमा पत्रकारहरूले विधेयकमा रहेको पत्रकारलाई दण्ड तथा जरिवानाको प्रावधान खारेज गर्न माग गर्दै आन्दोलन निरन्तर रहने उद्घोष गरेका छन् । यसअघि, बिहीबार पनि उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि समान माग राखी धर्ना दिएका थिए ।

प्रदेश सरकारले भदौ ६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई बढीमा डेढ लाख रुपैयाँसम्मको दण्ड र जरिवाना गर्ने व्यवस्था राखिएको छ । मन्त्रिपरिषद्‌द्वारा अनुमोदन भई भदौ ४  मा न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएको थियो । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, सल्लाहकार लिलाबल्लभ घिमिरे, महासचिव हिमा च्याम्जुङ, प्रेस सेन्टरका उपाध्यक्ष विवेक गौतम र मोरङ अध्यक्ष सुशिला पाठकले विधेयकमा राखिएको दण्डको प्रावधान खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएर विधेयकमा पत्रकारलाई अंकुश लगाउने गरी राखिएको प्रावधानबारे जानकारी गराइसकेको थियो । 

कान्तिपुर

Link copied successfully