झापामा भेटियो विश्वकै सबैभन्दा ठूलो विषालु प्रजातिको सर्प

कृपेश कार्कीको नेतृत्वमा तीन उद्धारकर्ताले एक घण्टाको प्रयासपछि सर्पलाई सुरक्षित स्थानमा पुर्‍याए।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

The world's largest venomous snake was found in Jhapa

What you should know

झापा — विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन (किङ कोब्रा) पहिलो पटक झापामा भेटिएको छ । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरबाट दिउँसो करिब साढे १ वजे उक्त गोमन उद्धार गरिएको हो ।

यसलाई झापामा पहिलो अभिलेखीय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ युवा उद्धारकर्ता कृपेश कार्की घटनास्थल पुगे । ठूलो आकारको ‘राज गोमन’ देखेपछि उनले थप सहयोग मागे र अनुभवसहितका उद्धारकर्ता श्याम प्रधान र वीरेन्द्र तिवारी पनि त्यहाँ पुगे । तीन जनाको करिब एक घण्टा लामो प्रयत्नपछि सर्पलाई उद्धार गरिएको हो । 

उद्धारपछि सर्पलाई बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा ल्याइयो । त्यहाँबाट वन्यजन्तु उप–विभाग चारआलीलाई तत्काल जानकारी गराइएपछि दुई जना वन कर्मचारी आएर सर्पलाई आधिकारिक रूपमा नियन्त्रणमा लिएका थिए । सर्पको तौल करिब ८ दशमलव ५ किलो र लम्बाई १२ दशमलव ५ फिट रहेको थियो । 

जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको एक सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जनाए । 

संरक्षण समाजका अध्यक्ष खरेलका अनुसार सर्प मारिनु हुँदैन । यी पनि प्रकृतिको हिस्सा हुन् । विशेषगरी ‘राज गोमन’ जस्ता प्रजातिले वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यस्ता जीवहरूले अन्य विषालु तथा अबिषालु सर्पदेखि साना जीवजन्तुको सन्तुलनमा योगदान पुर्‍याउँछन् । 

‘तर, नेपालको धेरै ठाउँमा अहिले पनि सर्प देख्नासाथ मार्ने चलन जीवित छ’, खरेलले भने, ‘यस्तो प्रवृत्तिले वातावरणीय श्रृंखला भत्काउने खतरा बढाउँछ’, अध्यक्ष खरेलले भने । झापामा ‘राज गोमन’ भेटिनु आफैंमा दुर्लभ घटना हो । भारत, भूटान र आसाम क्षेत्रका उष्णकटिबन्धीय जंगलमा बढी पाइने यो प्रजाति नेपालमा प्रायः तराईका घना वन क्षेत्रमा मात्र देखिने गर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully