नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अगुवाइमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिइएको हो ।
विराटनगर — प्रदेश सरकारले ल्याएको ‘प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’का केही विवादास्पद प्रावधान सच्याउन माग गर्दै बिहीबार कोशी प्रदेशका पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अगुवाइमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिइएको हो ।
महासंघका अनुसार प्रदेशका अन्य १३ जिल्लामा पनि जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले धर्ना दिएका छन् । पत्रकार संगठनहरुले विधेयकमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रावधान रहेको भन्दै आपत्ति जनाएका छन् । पत्रकार महासंघका अध्यक्ष भरत खड्काले विधेयक नसच्याइएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । सरोकारवालाले दफा २७ मा सरकारले प्रसारणमा रोक लगाउने व्यवस्था, प्रेस रजिष्ट्रारलाई न्यायिक अधिकार दिने प्रावधान, व्यावसायिक आचारसंहिता उल्लंघनलाई फौजदारीकरण गर्ने र डेढ लाख रुपैयाँसम्म जरिमाना गर्ने दफा लगायतका विषयमा असन्तुष्टि जनाएका छन् ।
शुक्रवार बस्ने भनिएको प्रदेशसभा बैठकमा विधेयक पारित गर्ने तयारीसँगै पत्रकार महासंघलगायतका संस्थाले विरोधलाई चर्काएको हो ।
गत ४ गते न्याय, प्रशासन तथा विधायन समितिले ‘आम सञ्चार विधेयक’ पारित गरी ६ गते शुक्रबार प्रदेशसभामा पेस गरेको छ ।
