दुई नाबालकसहित सप्तकोशीमा हाम फालेकी महिला मोरङ कारागारको शौचालयमा मृत फेला

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की राधा भट्टराई गत वर्ष दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम फालेकी थिइन् । सो घटनामा उनका दुवै सन्तानको ज्यान गयो, तर उनलाई सकुशल उद्धार गरिएको थियो ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

A woman who jumped into Saptakoshi with two minors was found dead in the toilet of Morang prison

विराटनगर — मोरङ जिल्ला कारागारको महिला सेलभित्र एक महिला कैदी मृत फेला परेकी छन् । कारागारका जेलर गौरव ढुंगेलका अनुसार बुधबार बिहान करिब ४ बजे शौचालयमा झुन्डिएको अवस्थामा सुनसरी बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका)को शव फेला परेको हो । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की उनले गत वर्ष दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम फालेकी थिइन् । सो घटनामा उनका दुवै सन्तानको ज्यान गयो, तर राधालाई सकुशल उद्धार गरिएको थियो । त्यसपछि उनलाई दुई सन्तानको मृत्युमा संलग्न देखाउँदै कर्तव्यज्यान मुद्दा चलाइयो ।

२०८१ साल कात्तिक ७ गते सुनसरी जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएकी राधा यसबीच मानसिक रूपमा गहिरो तनावमा रहेको कारागार स्रोतले जनाएको छ ।  

मोरङ कारागारमा कैद भोग्दै आएकी राधाले मानसिक तनावकै कारण आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully