नयाँ भवनसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवामा पाँचवटा अत्याधुनिक अप्रेसन थिएटर, २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन र छुट्टै गाइनो आईसीयू सञ्चालनमा ल्याएको छ ।
विराटनगर — विराट मेडिकल कलेज टिचिङ हस्पिटल, टंकिसिनवारीमा स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शय्याको अत्याधुनिक भवन मंगलबार उद्घाटन गरिएको छ ।
भवन उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेले गरे ।
नयाँ भवनसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवामा पाँचवटा अत्याधुनिक अप्रेसन थिएटर, २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन र छुट्टै गाइनो आईसीयू सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार यसले महिलाहरूलाई अझ सुरक्षित, गुणस्तरीय र सहज उपचार उपलब्ध गराउनेछ ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज छोटो समयमा नै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्था बनेको छ । हाल २० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको टोलीले चौबीसै घण्टा सेवा प्रदान गर्दै आएका छन् ।
कार्यक्रममा उपकुलपति वाग्लेले अस्पतालले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवै क्षेत्रमा उदाहरणीय योगदान दिएको बताएका थिए । सो अवसरमा अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीका लागि आधुनिक ‘विराट खाजा घर’ पनि सञ्चालनमा ल्याएको छ ।
