आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्न सक्छ : मुख्यमन्त्री कार्की

पत्रकारहरूको दबाब र चासोको बीचमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो विधेयक तत्काल पारित हुन नसक्ने स्पष्ट संकेत दिएका छन् ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Mass media bill can go ahead only after further discussion: CM Karki

What you should know

विराटनगर — कोशी प्रदेशमा हाल चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ संसद्‌मा पेस भएलगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनहरूले तीव्र विरोध जनाइरहेका छन् ।

पत्रकारहरूको दबाब र चासोको बीचमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो विधेयक तत्काल पारित हुन नसक्ने स्पष्ट संकेत दिएका छन् । उनले विधेयकलाई परिमार्जन र परिष्कृत गर्ने प्रक्रियामा समय लाग्ने बताउँदै भने,‘हामी प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारका पक्षमा पूर्ण रूपमा प्रतिबद्ध छौं । पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिएर अघि बढ्छौं ।’ 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा ज्ञापनपत्र बुझाउन गएका पत्रकार प्रतिनिधिसँग मंगलबार भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले भने, ‘संसद्‌मा प्रस्तुत भइसकेको विधेयक अब सरकारको विषय मात्र होइन । सरोकारवाला सबै पक्षसँग गम्भीर छलफल गरेर अघि बढाउनुपर्छ । पत्रकारसँग जोडिएका संघसंस्थाको चासो गम्भीर रूपमा आएको छ, त्यसैले अब विधेयक थप छलफलपछि मात्र अघि बढ्न सक्छ ।’ 

मुख्यमन्त्री कार्कीले प्रदेशमा दृढ र सशक्त पत्रकारिता संरचना निर्माण गर्ने आफ्नो उद्देश्य रहेको स्पष्ट पार्दै कानुनमार्फत् पत्रकारितालाई व्यवस्थित गर्ने सोचअनुसार विधेयक ल्याइएको जिकिर गरे । पत्रकार महासंघलगायत सरोकारवालाबाट उठेका प्रश्न र आशंकालाई सम्मानपूर्वक सम्बोधन गर्न छलफललाई प्राथमिकता दिइने उनले बताए । 

सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमाकुमारी चेम्जोङले पत्रकारहरूको माग र सरोकारबारे विस्तृत धारणा राखे । महासंघले विधेयकमा रहेका प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने प्रावधान सच्याउन आग्रह गर्दै, पत्रकारहरूको हकहित र नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने जोड दिएको छ ।

यसअघि, कोशी प्रदेश सरकारको न्याय, प्रशासन तथा विधायन समितिले गत बुधबार ‘आम सञ्चार विधेयक’ पारित गरी शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको थियो । तर, विधेयक सार्वजनिक भएलगत्तै पत्रकार महासंघ, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरूले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भन्दै तीव्र विरोध जनाएका थिए ।

नेपाल पत्रकार महासंघले भदौ ९ देखि १३ सम्मका लागि चरणबद्ध आन्दोलन कार्यक्रमसमेत घोषणा गरेको छ । यसमा सामाजिक सञ्जालमार्फत खबरदारी, ध्यानाकर्षण कार्यक्रम, प्रदेशसभा सदस्यलाई सन्देश पठाउने अभियान, धर्ना र विराटनगरमा बृहत् प्रदर्शनसमेत समावेश छन् ।

विधेयकका प्रावधानहरूलाई लिएर उठेको विवादले प्रदेशसभामात्र होइन, पत्रकारिता र लोकतन्त्रको क्षेत्रमै तरंग ल्याएको छ । ‘मुख्यमन्त्री कार्कीले पत्रकारहरूको आवाज सुन्ने र छलफलको बाटो समात्ने संकेत दिनु सकारात्मक कदम हो’,समाजवादी प्रेस संगठन कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेलले भने, ‘यसले विधेयकमा आवश्यक संशोधन वा परिमार्जन भई सरकार र पत्रकारबीचको टकराव कम हुने सम्भावना बलियो बनेको छ ।’

कान्तिपुर

Link copied successfully