संखुवासभामा सुख्खा पहिरो खस्दा घर भत्कियो

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा कुनै मानवीय क्षति नभए पनि करिब पाँच लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको छ।

भाद्र १०, २०८२

दीपेन्द्र शाक्य

A house collapsed in Sankhuwasabha after a landslide

संखुवासभा — खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुख्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर भत्किएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार जस्तापाताले छाएको दुई तले ढुंगामाटोको घर मंगलबार बिहान पहिरोले पूरै क्षतिग्रस्त बनाएको हो । घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

लामाको घर केही समयदेखि जोखिममा रहेको र सडक निर्माणका कारण जमिन चिराचिरा परेको पीडित परिवारको भनाइ छ । घरमुनि निर्माणाधीन कोशी राजमार्गको खाँद बारी–किमाथांका सडक खण्डमा एक्स्काभेटरले ढुङ्गा फुटाउँदा घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक सुरक्षित रहेको जनाइएको छ ।

धर्मगुरुका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामा स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाई बसोबासको व्यवस्था मिलाएका व्यक्ति हुन् ।

दीपेन्द्र

Link copied successfully