१२ वर्षीया बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या भएको भन्दै छानबिनको माग

बालिकाको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा गम्भीर भएर अनुसन्धान गरिनुपर्ने उनीहरूको माग छ।

भाद्र ९, २०८२

डम्बरसिं राई

12-year-old girl's death case: Demand for investigation as murder after rape

What you should know

खोटाङ — झुण्डिएको अवस्थामा मृत भेटिएकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको भन्दै आफन्त र उनी अध्ययनरत विद्यालयले छानबिनको माग गरेको छ। उनलाई बलात्कारपछि झुण्डाइएको हुन सक्ने उनीहरूको आशंका छ। बालिकाको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा गम्भीर भएर अनुसन्धान गरिनुपर्ने उनीहरूको माग छ।

बालिका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङ्माङको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। 

उनी अध्ययनरत सावित्रा माध्यमक विद्यालयले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाउँदै बालिकालाई बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आवश्यक छानबिन र अनुसन्धानको माग गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल चाम्लिङ राई र निमित्त प्रधानाध्यापक टंकप्रसाद भण्डारीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। तारा सावित्रा माविमा कक्षा-४ मा अध्ययनरत थिइन्।

उनीहरूका अनुसार बालिकाको शवको कम्मरमुनिको भाग नाङ्गो अवस्थामा भेटिएको थियो। तर उनको शव उठाउने बेला स्थानीय जनप्रतिनिधिको उपस्थितिबिनै शव प्याकिङ गरी उठाइएको, घटनास्थलमा विज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग भएको, १२ वर्षकै उमेरमा डिप्रेशन वा तनावको कारण आत्महत्या गर्न सक्ने सम्भावना न्यून रहेको, टिसर्ट र सुतली डोरीको प्रयोग गरी खुट्टा टेकिएकै अवस्थामा झुण्डिएको भेटिएको जस्ता कारणहरूले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

मृतकका आफन्तले समेत बालिकाको हत्या भएको आशंका गर्दै छानबिनको माग गर्दै भदौ १ गते प्रहरीमा जाहेरी दिएका थिए । मृतकका बुवा टेकबहादुर सार्कीले जाहेरी दिएपछि पोष्टमार्टम गरी बालिकाको शव अन्त्येष्टि गरिएको थियो। 

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले स्थायी घर भएकी उनकी आमा सरिता सार्की एक भाइ छोरासहित हिङ्माङको घर मुनि डेरा लिएर बस्दै आएकी थिइन्। मृत फेला परेको घरधनी रामकुमार हिङ्माङले आफ्नै घरमा घटना घटेकाले तथ्यसत्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन्।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully