इलाममा भेटिए ‘हिमालयन वुड आउल’ का जोडी

ध्वाँसे चितुवा दिवसको अवसरमा झापामा भएको अन्वेषणमा दुर्लभ हिमालयन वुड आउलको जोडी भेटिएको छ, जसको वैज्ञानिक नाम Strix nivicolum हो।

भाद्र ८, २०८२

लक्ष्मी गौतम

A pair of 'Himalayan Wood Owl' was found in Ilam

What you should know

पाँचथर — इलाममा विश्वमै दुर्लभ मानिने ‘हिमालयन वुड आउल’ नामक चरा भेटिएका छन् । दुर्लभ प्रजातिमा पर्ने ती चराको जोडी जिल्लाको माईजोगमाई गाउँपालिका ६ थुम्केरानीमा भेटिएका हुन् ।

गत अगष्ट ४ देखि सुरु भएको ध्वाँसे चितुवा दिवसको सन्दर्भ पारेर गरिएको खोजमा ती चराको जोडी भेटिएको अन्वेषक तथा वाइल्ड लाइफ फोटो ग्राफर देवेन खरेलले जानकारी दिए ।

ध्वाँसे चितुवा दिवसको सन्दर्भ पारेर गरिएको अन्वेषणमा एक साता लामो चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाइफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले सहझागी थिए ।

यी चराको वैज्ञानिक नाम Strix nivicolum हो । यीनको वैश्विक स्थिति Least Concern (IUCN), CITES Appendix II  रहेको जानकारी अन्वेषक खरेलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन ।

यहाँ भेटिएका ती जोडी हिमालयन वुड आउल खरेलको क्यामेरामा कैद भएका छन् । यसअघि यस्ता चरा भारत, पाकिस्तानको पश्चिमी हिमाल हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चीन, कोरिया र ताइवानका केहि भागमा पाइन्थ्यो ।

ती चरा नेपालमा भने बिरलै मात्रै भेटिने गरेको अन्वेषकहरु बताउँछन् । यो प्रजातिका चरा समुद्री सतहबाट एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाईसम्म भेटिन्छन् । यी चरा लौठ सल्ला र गुराँसको वनमा बस्न रुचाउने पनि अन्वेषक खरेल बताउँछन् ।

यसपटक भेटिएको थुम्केरानी क्षेत्रको उचाई दुई हजार तीन सय ५० मिटरको रहेको उल्लेख छ । यस्ता उल्लुको कानको झुप्पा देखिँदैनन् भने टाउको गोलो हुन्छ । रङ खैरो र सेतो छरिएको अनुहार, शरीर खैरा, पेटमा पातलो खैरो धर्सा देखिन्छन् ।

बाहिरी रूपमा मलाहा हुचिलको झैं टाउको देखिए पनि रङ र आवाज फरक हुन्छ । यिनीहरु गहिरो गरी हू–हू आवाजमा पालैपालो कराउँछन् ।

साँझ र रातको समयमा सक्रिय रहने र आहारका रुपमा मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठूल्ठूला कीरा खाने गरेको पाइएको छ ।

यी चराले हिउँदको अन्त्यदेखि बसन्त ऋतु भित्रमा अण्डा पारेर बच्चा कोरल्छन् । यो प्रजातिका चरा स्वस्थ वनमा आश्रित रहन्छन् । वन विनाश हुँदै जाँदा विश्वबाटै यो चरा पनि लोप हुन लागेको बताइएको छ ।

वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडीले यस पटक बर्खे चरा खोज्ने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातिका चरा फेला पारेको बताइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully