दिक्तेल रूपाकोट मझुवागढीले सामाजिक सुरक्षा भत्ताका लागि काठमाडौं र इटहरीमा शिविर सञ्चालन गर्ने

काठमाडौंमा भदौ ११ देखि १४ र इटहरीमा भदौ १६ देखि १९ सम्म शिविर सञ्चालन गरिने निर्णय कार्यपालिका बैठकले गरेको छ।

भाद्र ७, २०८२

डम्बरसिं राई

Diktel Rupakot Majhuwagadi will conduct camps in Kathmandu and Itahari for social security allowance

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राजधानी र तराईमा रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सेवा दिन काठमाडौं र इटहरीमा शिविर सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा आगामी भदौ ११ देखि १४ गतेसम्म र इटहरीमा भदौ १६ देखि १९ गतेसम्म शिविर सञ्चालन गर्ने भएको हो । नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार भदौ ५ गतेको कार्यपालिकाको बैठकले काठमाडौं र इटहरीमा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिविरमा सामाजिक सुरक्षाभत्ताको नवीकरण लगायतका काम गरिने घिमिरेले सुनाएका छन् । काठमाडौंमा वडा नं २ का वडाअध्यक्ष ध्रुवविक्रम राई र वडा नं १४ का वडाअध्यक्ष दिनेशकुमार राई तथा इटहरीमा वडा नं ५ का वडाअध्यक्ष दिनेशकुमार घिमिरे र वडा नं ९ का वडाअध्यक्ष दिनेश कठायतको नेतृत्वमा शिविर सञ्चालन गरिने घिमिरेले सुनाए ।

‘काठमाडौं र तराईमा रहनुभएका सामाजिक सुरक्षा भत्ताका लाभगाहीलाई लक्षित गरी शिविर सञ्चालन गर्ने तयारी गरिएको हो,’ घिमिरेले भने, ‘काठमाडौंमा सिनामङ्गलको होटल जन्मभूमिमा र इटहरीमा इटहरी उपमहानगरपालिकामा शिविरको बन्दोबस्ती गरिएको छ ।’

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने पाँच हजार ८ सय ७२ जना लाभग्राही छन् । सामाजिक सुरक्षा भत्तामा पछिल्लो चौथो त्रैमासिकमा पाँच करोड ९२ लाख २० हजार ९ सय ६० रूपैयाँ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully