खोटाङका विभिन्न संघसंस्थाले बालिकाको शंकास्पद मृत्यु प्रकरणमा छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
What you should know
खोटाङ — झुन्डिएको अवस्थामा मृत भेटिएकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानविन र अनुसन्धानको मागसहित विभिन्न संघसंगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा अनेरास्ववियु खोटाङ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङ, महिला एकता अध्ययन केन्द्र खोटाङ, बालसेवा समाज नेपाल, नेर्पा खोटाङ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङ, अखिल नेपाल महिला संघ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ, महिला उद्यमी संघ खोटाङ, खोटाङ दलित उद्यमी सहकारी संस्था, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), गैरसरकारी संस्था महासंघ, नेपाल महिला संघ खोटाङ छन् ।
बालिका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङ्माङको घरमा झुन्डिएको अवस्था भेटिएकी थिइन् । कम्मरमुनिको अंग नांगो हुनु, जनप्रतिनिधिको उपस्थितिबिनै शव प्याकिङ गरिनु, घटनास्थलमा विज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग नहुनु, १२ वर्षकै उमेरमा डिप्रेसन वा तनावको कारण आत्महत्या गर्न सक्ने सम्भावना न्यून हुनु, टिसर्ट र सुत्ली डोरीको प्रयोग गरी खुट्टा टेकिएकै अवस्थामा झुन्डिएको हुनु, घटनास्थलमा पटक–पटक प्रहरी परिचालन गराई अनुसन्धानलाई तीव्रता दिनुपर्नेमा त्यसो नगरिनुले घटना शंकास्पद भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
मृतकका आफन्तले समेत बालिकाको हत्या भएको आशंका गर्दै छानबिनको मागसहित भदौ १ गते प्रहरीमा जाहेरी दिएका थिए । मृतकका बुवा टेकबहादुर सार्कीले जाहेरी दिएपछि पोस्टमार्टम गरी बालिकाको शव अत्येष्टि गरिएको थियो ।
उनी बाम्राङस्थित सावित्रा माविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी करिब तीन महिनादेखि हिङ्माङको घरमा बस्दै आएको ज्ञापनपत्रमा उल्लेख छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले स्थायी घर भएकी उनकी आमा सरिता सार्की एक भाइ छोरासहित हिङ्माङको घरमुनि डेरा लिएर बस्दै आएकी थिइन् । आफ्नै घरमा घटना भएकाले तथ्यसत्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने हिङ्माङले बताएका छन् ।
