कुवेत फन्डको ऋण सहयोगमा सिँचाइ प्रणाली सुधार : कोशीका ८ उपआयोजनाको विस्तृत डिजाइन स्वीकृत

कुवेत फन्डले नेपालमा १९७७ देखि विकास परियोजनामा सहयोग गर्दै आएको छ, अहिले १५ जिल्लामा सिँचाइ प्रणाली सुधार गर्दै।

भाद्र १, २०८२

पर्वत पोर्तेल

Irrigation system improvement with credit support from Kuwait Fund: Detailed design of 8 sub-projects of Koshi approved

What you should know

काठमाडौँ — नेपालमा सिँचाइ प्रणाली सुधारका लागि कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टले १ अर्ब ६८ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएसँगै कोशीका ८ सहित १५ उपआयोजनाहरूको विस्तृत डिजाइन रिपोर्ट (डीडीआर) स्वीकृत भएको छ । 

 कुवेत फन्डले सन् १९७७ देखि नै नेपाललाई विभिन्न विकास परियोजनामा सहयोग गर्दै आएको छ । २०७६ साल फागुनमा ऋण सहयोगका लागि द्विपक्षीय सम्झौता भएको थियो । सिँचाइ प्रणाली सुधार परियोजनाअन्तर्गत मध्य र पूर्वी नेपालका १५ जिल्लामा सिंचाइ प्रणाली सुधार र विस्तार गर्ने योजना छ ।

कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका अनुसार संघीय सरकारले कुवेत फन्डमार्फत लिएको ऋणबापतको रकम कोशी प्रदेशका ८ उप आयोजनाका लागि हस्तान्तरण गरेको छ । ‘संघीय सरकारले ऋण लियो, कोशीलाई सिँचाइ सुधारका लागि अनुदानमा दिएको हो,’ मन्त्रालयका सचिव प्रदीप वान्तवाले भने,‘ऋणको ब्याज संघले तिर्छ, हामीले योजना कार्यान्वयन गर्ने मात्रै हो ।’ 

उनका अनुसार विस्तृत डिजाइन सकिएर योजना मूल्यांकनको काम भइरहेको छ । चाँडै ठेक्का लाग्ने सचिव वान्तवाले जनाए ।  

यही फन्डमार्फत रामेछाप, मकवानपुर, काठमाडौं, काभ्रे, ललितपुर, धादिङलगायतका जिल्लामा समेत काम भइरहेको छ ।  ‘सरकारले कुवेत फन्डको सहयोग र स्वदेशी स्रोतको संयोजनमार्फत आगामी वर्षहरूमा सिँचाइको पहुँच विस्तार गरी कृषि उत्पादन बढाउने लक्ष्य अघि सारेको छ,’ सचिव वान्तवाले भने । 

यस सिँचाइ परियोजनाले देशभर २ सय ५० किलोमिटर लामा नहरहरू बनाउनेछ । यसबाट  ग्रामीण क्षेत्रका किसानहरूले खेतमा सहजै सिँचाइको लाभ लिन सक्नेछन् । साथै, २० वटा बाँध र ३० वटा पानी सिंचित गर्ने संरचना (इन्टेक) पनि बनाइनेछ । 

परियोजनाले २ हजार साना जलाशय (पोखरी) पनि बनाउनेछ । यी जलाशयहरूले वर्षाको पानी जम्मा गरी सुख्खा मौसममा पनि सिंचाई गर्न सहयोग गर्नेछन् । यसले किसानहरूलाई खडेरीका समयमा पनि वर्षभरि खेती गर्न सहयोग पुग्ने अपेक्षा छ ।

कुन योजनालाई कति पैसा ?

आयोजनारकम
अग्रास्था कुलो सिँचाइ उप–आयोजना, संखुवासभा२ करोड ६२ लाख ५२ हजार
काली खोला छाङ्गे खोल्सी सिँचाइ उप–आयोजना, संखुवासभा४ करोड ३३ लाख ३२ हजार
ठोट्ने खोलो धनमुडा भल्से सिँचाइ उप–आयोजना ओखलढुंगा२ करोड ३ लाख १२ हजार
सिमखर्च तीनतले सिँचाइ उप–आयोजना, इलाम २ करोड ५ लाख ३० हजार
खहरे माझबुङ सिँचाइ उप–आयोजना, ताप्लेजुङ २ करोड ४९ लाख २६ हजार
लालीखोला त्रिशक्ति बाँध सिँचाइ उप–आयोजना, मोरङ २ करोड ११ लाख ६६ हजार
हुण्डिय खोलो बाङ्गे कुलो सिँचाइ उप–आयोजना, तेह्रथुम   १ करोड ९९ लाख ९८ हजार
ठूलाचौर सिरान कुलो सिँचाइ उप–आयोजना, खोटाङ १ करोड ६१ लाख १० हजार

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully