सडक डिभिजन कार्यालय इलामका अनुसार उक्त पुल हालसम्म नेपालमा जडान भएका मोड्युलर प्रविधिमध्ये सबैभन्दा लामो हो ।
What you should know
पाँचथर — मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत हेँवा खोलामा ७० मिटर लामो मोड्युलर बेलिब्रिज जडान गरिएको छ। पटक-पटकको विपद्को कारण दु:ख झेलेका स्थानीय र यात्रुहरूले अब बेलिब्रिजमार्फत् सुरक्षित यात्रा गर्न पाउने भएका छन्।
सडक डिभिजन इलामका अनुसार उक्त पुल हालसम्म नेपालमा जडान भएका मोड्युलर प्रविधिमध्ये सबैभन्दा लामो हो । जुन पुल भारतबाट आएका २१ जना प्राविधिकले काम सुरु गरेको ११ दिनमै जडान कार्य सम्पन्न गरेका हुन्।
जडान सकिए लगत्तै पुलको भार क्षमता परीक्षण गर्दा ३६ टन धानेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराइले बताए । परीक्षणमा जे-जति थेगे पनि पुलबाट २५ टनभन्दा धेरै क्षमताका साधन तार्न अनुमति नदिइने सडक डिभिजन इलामले जनाएको छ ।
यसअघि निर्माणाधीन मोडुलर ब्रिज गत जेठ ३१ गते निर्माण सम्पन्न नहुँदै भाँचिएको थियो । पुल भाँचिदा २० प्रतिशत सामग्री नष्ट भएको थियो । यो मोडुलर भारत सरकारले उपलब्ध गराएको हो । सडक डिभिजन इलामले त्यसपछि पुनः यहाँ मोडुलर ब्रिज जडानका लागि प्रक्रिया अगाडि बढाएको हो ।
‘पुल जोड्ने र लोड टेस्ट गर्ने काम सकियो, स्क्रुप नट कसियो,अहिले वारि र पारिका जगमा ढलाई गर्ने काम भइरहेको छ, एप्रोच रोडसँगै –ढलानको काम सकेर गाडी चलाउने अनुमति दिन्छौँ, भदौ ४ गते उद्घाटन गरेर सवारी सञ्चालन अनुमति दिने तालिका छ,' भट्टराईले भने।
मोडुलर ब्रिज जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको थियो। मेची राजमार्ग हुँदै फिदिमबाट पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङसँगै सिङ्गो ताप्लेजुङलाई सडक सञ्जालसँग जोड्ने हेँवा खोलाको पक्की पुल २०८० साल असार–२ बाढीले बगाएको थियो ।
त्यसपछि संघीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकोमा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएको थियो। पुनः जोडिँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते जडानकै क्रममा भाँचिदा ३ जना श्रमिकको निधन हुनका साथै ३ जना घाइते भएका थिए । पुल भत्किएपछि यहाँ अस्थायी डाइभर्सन मार्फत सवारी वारपार गरिँदै आएको छ ।
यद्यपि पानी पर्नासाथ आउने बाढीले डाइभर्सन बगाउँदा पटक पटक सडक अवरुद्ध हुने गरेको छ । यस्तो बेलामा सास्ती खेप्दै आएका हेंवा पारिको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङका नागरिक पुल बनेसँगै खुशी भएका छन ।
