पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुम लगायतका स्थानमा पछिल्लो ३० घण्टायता निरन्तर पानी परिरहेको छ।
पाँचथर — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र इलामसहित विभिन्न स्थानलाई जोड्ने तीन वटा मुख्यसहित ८ वटा सडक अवरुद्व भएका छन्।
मंगलबार साँझदेखि भइरहेको निरन्तरको वर्षाका कारण आएको बाढीले ताप्लेजुङ र पाँचथरलाई इलाम हुँदै झापासम्म जोड्ने मेची राजमार्गको पाँचथर खण्ड, मध्य पहाडी राजमार्गको पाँचथर खण्डअन्तर्गत् याङवरक-३ को रिजाल भिर र दोभाने खोला, फिदिम याङनाम फालौट मार्गको हेवा खोला र फिदिम थकेपुङ सडकको अन्तर्गत पर्ने हेवा खोला घुमाउनेटार खण्ड अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै, फिदिम फालौट मार्गमा पर्ने फालेलुङ-५ लुदिनटार नजिकैको मुवा खोला, मिक्लाजुङ-३ थामथुमको भित्री सडक र फिदिम-८ तमाखेदेखि पौवाभञ्ज्याङ र रानिटार जाने भित्री सडक पनि अवरुद्व भएको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशल कुमार बुडाथोकीले जानकारी दिए ।
यत्तिका सडक अवरुद्व हुँदा ठाँउ-ठाउँमा सवारी र ढुवानीका साधन अलपत्र परेका छन्। जसले गर्दा यात्रुलाई सास्ती भएको छ ।पाँचथरसहित पहाडी जिल्ला ताप्लेजुङ, इलाम र तेह्रथुम लगायतका स्थानमा पछिल्लो ३० घण्टायता निरन्तर पानी परिरहेको छ ।
