विधान महाधिवेशनको मस्यौदामा रचनात्मक सुझाव संकलनका लागि समिति गठन
What you should know
धनकुटा — विधान महाधिवेशनलाई रचनात्मक सुझाव संकलन गर्नेसहित एक वर्षीय वैचारिक तथा सांगठनिक कार्ययोजना पारित गर्दै एमाले कोशी प्रदेश कमिटीको धनकुटाको हिलेमा जारी सातौं पूर्ण बैठक सम्पन्न भएको छ । एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा मंगलबारदेखि बैठक जारी रहेको थियो ।
बैठकले चालु आर्थिक वर्षको लागि प्रस्तावित वैचारिक, सांगठानिक तथा आर्थिक कार्ययोजनासमेत पारित गरेको एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए । यसअन्तर्गत विभिन्न १४ वटा मुख्य विषयमा केन्द्रित कार्ययोजनालाई समेत बैठकले अनुमोदन गरेको उनले बताए ।
यसैगरी, आगामी विधान महाधिवेशनका लागि तयार पारिएको मस्यौदामा रचनात्मक सुझाव संकलनका लागि मातहतका कमिटीलाई निर्देशन दिइएको छ । यसअघि प्रदेशभरिका गाउँ, नगर र जिल्ला कमिटीहरुबाट प्राप्त सुझावलाई व्यवस्थित गर्न ९ सदस्यीय विधान मस्यौदा सुझाव संकलन समितिसमेत गठन गरिएको छ । जसका लागि एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको संयोजकत्वमा समिति गठन गरी संकलित मस्यौदालाई एकीकृत गरि पेश गरिने जनाइएको छ । यस्तै, चालु आव २०८२–२०८३ को प्रस्तावित बजेतसमेत बैठकले स्वीकृत गरेको छ ।
बैठकमा एमालेका कोशी प्रदेशभरीका १४ जिल्लाका अध्यक्ष, प्रदेश कमिटीका पदाधिकारीसहित करिब दुई सय सहभागी थिए । यस्तै महासचिव पोखरेलसहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, प्रदेश कमिटी इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्यसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत खड्का लगायत सहभागी थिए ।
