सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच जना पुग्यो

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको मृत्यु भएको, २३ जनाको उपचार भइरहेको र तीन जनाको अवस्था सामान्य रहेकाले घर गइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

श्रावण २६, २०८२

रासस

Sunsari accident update: The death toll has reached five

What you should know

सुनसरी — सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शंकर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए । 

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो(विङगर) एकापसमा ठोक्किएको थियो ।  

शंकर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा र जिवछको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खतिवडाले बताए ।  

दुर्घटनामा २८ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जनाको मृत्यु भएको, २३ जनाको उपचार भइरहेको र तीन जनाको अवस्था सामान्य रहेकाले घर गइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बीस जना घाइतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारी र बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वर्षा भइरहेको र सवारी तीव्र गतिमा रहेका कारणले दुर्घटना भएको अनुमान गरिएको छ ।

रासस

Link copied successfully