मध्यपहाडी राजमार्गको सबैभन्दा ठूलो पुलको संरचना कमजोर बन्दै जाँदा कुनै पनि बेला दुर्घटना निम्तने सम्भावना देखिएको छ ।
What you should know
पाँचथर — मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेबल पुल जोखिममा परेको छ । पाँचथर खण्डतर्फको पिलर ढुंगा, बालुवा र लेदोले पुरिनका साथै तेह्रथुमतर्फ निरन्तर कटान हुँदा पुल जोखिममा परेको हो ।
पुलको मध्य भागमा पानीको बहाव बढ्दा गहिरिने र बाढी आँउदा ढुंगा, गिटी र बालुवाले ढाक्ने समस्याले पिलर जोखिममा छन् । यो मध्य पहाडी राजमार्गकै सबैभन्दा ठूलो पुल हो । २०६६ सालमा सुरु भएर २०७० सालमा सम्पन्न पुलको लम्बाइ २ सय मिटर छ ।
१ हजार ७ सय ६५ किलो मिटर लम्बाइ रहेको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर-तेह्रथुम जोड्ने यो पुल तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले १५ करोड १७ लाख खर्चेर तयार गरेको थियो । यो पुलबाट दैनिक तीन सयभन्दा धेरै ठूला, साना र मझौला सवारीसाधन वारपार गर्छन् ।
तीन वर्षयता वर्षाका समयमा पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थानमा बाढी पहिरोले सडक अवरुद्ध हुने गरेका छन् ।
दुवै सडक अवरुद्व हुँदा पाँचथरको फिदिमबाट जोरसाल–चुहानडाँडा–संक्रान्ति, औंशी भञ्ज्याङ–म्याङलुङ–बसन्तपुर–भेडेटार र धरान हुँदै झापा र विराटनगर जाने गर्छन् ।
सामान्य मौसममा झापाको विर्तामोड र पाँचथरको फिदिमबाट तेह्रथुमको आठराई र फेदापका विभिन्न बजारसम्म दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने बाटो मध्यपहाडी राजमार्ग नै हो । पुलको समयमै संरक्षण र मर्मत नगर्ने हो भने तेह्रथुम र पाँचथर मात्र नभएर यो सडकले समेटेका क्षेत्रको यातायात सम्पर्क विच्छेद हुने सम्भावना स्थानीयले औंल्याउँदै आएका छन् ।
तमोर करिडोरमा पर्ने धनकुटा–पाँचथरको सीमावर्ती नावा खोलामा पुल नै बनेको छैन भने पाँचथर, ताप्लेजुङ खण्डको हेवा खोलामा पटकपटक बाढीका कारण पुल बग्ने समस्या छ । यो बेला ताप्लेजुङको आठराई त्रिवेणी सहित सदरमुकाम फुङलिङसम्म सवारीसाधन यो पुल तरेर जाने गर्छन् । ‘पुलवारि जग पुरिनुका साथै पारिपट्टिको भाग नदीले कटान गर्ने क्रम तीव्र छ,’ व्यवसायी प्रेम पौडेल भन्छन् ।
यो पुल मर्मत र संरक्षणको दायित्व संघीय सरकार र मध्यपहाडी राजमार्ग आयोजनाको हो । पुल जोखिममा पर्न थालेपछि मर्मत सम्भार र संरक्षणका लागि संघीय सरकार, पुल सेक्टर आयोजना र सडक डिभिजनसँगै सरोकारवाला निकायमा बजेट व्यवस्थापनका लागि अनुरोध गर्दा सुनुवाइ नभएको तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको गुनासो छ ।
पुल संरक्षण र मर्मत सम्भारका विषयमा मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पाँचथरका प्रमुख दिपेन्द्रराज पाण्डेलाई पटकपटक सम्पर्क गर्दा फोन उठेन ।
गत वर्ष पुलको संरक्षण र मर्मत सम्भारका लागि तेह्रथुम र पाँचथरका प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको संयुक्त टोलीले अध्ययनपश्चात् मध्यपहाडी राजमार्ग आयोजना र संघीय सरकारलाई पत्राचार गरेको थियो । यद्यपि सम्बन्धित निकायले उक्त पत्रमा कुनै प्रतिक्रिया जनाएको छैन ।
पहाडी जिल्ला पाँचथर र तेह्रथुम हुँदै मध्यपहाडी राजमार्ग भएर पूर्व पाँचथरदेखि पश्चिम बैतडी झुलाघाटसम्म यात्रामा निस्कने यात्रु प्रभावित हुने भएकाले सरकार गम्भीर हुनुपर्ने सरोकारवालाहरु टिप्पणी गर्छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा प्राथमिकता पाएको मध्यपहाडी राजमार्गको सुरुवाती मार्ग पाँचथरको चिवाभञ्ज्याङदेखि अन्तिम बिन्दु बैतडीको झुलाघाटसम्म ४ सय वटा पुल छन । जसमध्ये पूर्वी खण्डको ६ सय ८१ किलोमिटर दुरीमा ७५ वटा पर्छन् । निर्माणाधीन ४ सय वटामध्ये सबैभन्दा ठूलो यही पुल हो ।
यसपछि सोही लोकमार्गअन्तर्गत सुनकोशी नदीमा निर्मित पुल दोस्रो ठूलो हो, जुन १ सय ७० मिटर लामो छ ।
