बहुविवाहसम्बन्धी प्रस्तावित मस्यौदाविरुद्ध ताप्लेजुङका महिला दिनहुँ प्रशासनमा 

प्रशासन कार्यालय पुगेका सबै महिलाको मुख्य माग बहुविवाहसम्बन्धी मस्यौदालाई कार्यान्वयनमा ल्याउनु नहुने र जबरजस्त गरे आफूहरू आन्दोलित हुने चेतावनी रहेको छ । 

श्रावण २२, २०८२

आनन्द गौतम

Women of Taplejung daily in administration against the proposed draft on polygamy

What you should know

ताप्लेजुङ — बहुविवाहसम्बन्धी प्रस्तावित मस्यौदाविरुद्ध ताप्लेजुङका महिलाहरू दिनहुँजसो प्रशासन कार्यालय पुग्न थालेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई खबरदारी गर्न उनीहरू प्रशासन कार्यालय पुगेका हुन् । 

बिहीबार अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमा आवद्ध महिला संघका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । यसअघि सत्तारुढ दल नेपाली कांग्रेस सम्बद्ध महिला संघ र एमाले सम्बद्ध अखिल नेपाल महिला संगठनले ज्ञापनपत्र बुझाएका थिए ।

प्रशासन कार्यालय पुगेका सबै महिलाको मुख्य माग बहुविवाहसम्बन्धी मस्यौदालाई कार्यान्वयनमा ल्याउनु नहुने र जबरजस्त गरे आफूहरू आन्दोलित हुने चेतावनी रहेको छ । उनीहरूले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारी पूर्ण, प्रतिगामी र आपत्तिजनक रहेको उल्लेख छ । यसले सामाजिक अपराधलाई प्रोत्साहन गर्ने दाबी गरिएको छ । यसरी ज्ञापनपत्र बोकेर प्रशासन कार्यालय आउनेमा स्थानीय तहका जनप्रतिनिधिदेखि राजनीतिक दलका अगुवा र सर्वसाधारण महिला रहेको प्रशासन कार्यालयले जनाएको छ । उनीहरूले आफ्नो पार्टी, संगठनको तर्फबाट छुट्टाछुट्टै र सामूहिक रुपमा पनि खबरदारी गरिरहेका छौं । 

प्रशासन कार्यालयका एक अधिकारीले भने जबरजस्ती गरे सामूहिक रुपमा प्रतिवाद गर्न तयार छौं भन्ने सन्देश दिनलाई होला पहिला छुट्टाछुट्टै र फेरि सामूहिक पनि आइरहेका छन् । 

फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ, आठराईत्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ ज्ञापनपत्र लिएर प्रशासन कार्यालय पुगेका थिए । 

जिल्लामा क्रियाशील कुनै पनि राजनीतिक दल ज्ञापनपत्र बुझाउनबाट बञ्चित नरहेको प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully