एमाले मोरङको निर्णय एउटा, सर्कुलर अर्कै 

ओली निकटलाई ‘साइज’मा ल्याउँदै भण्डारी समूह

श्रावण २२, २०८२

पर्वत पाेर्तेल

UML Morang's decision is one thing, the circular is another

What you should know

विराटनगर — नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको बिहीबार सम्पन्न बैठकको निर्णय र त्यसपछि जारी सर्कुलर फरक पाइएको छ । बैठकमा सार्वजनिक रूपमा सुनाइएका केही निर्णयहरू सर्कुलरमा उल्टाइएको भन्दै जिल्लाका केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

जिल्ला सचिव सोमराज थापाद्वारा वाचन गरिएको निर्णयअनुसार, नेपाल उत्पीडित जातीय मुक्ति समाजको मोरङ इन्चार्जमा किशोर विश्वकर्माको नाम घोषणा गरिएको थियो । तर, सर्कुलरमा उक्त निर्णय उल्टाउँदै मोरङ क्षेत्र नं. ६ की क्षेत्रीय उपसंयोजक टुनाकुमारी विक ‘प्रमिला’को नाम इन्चार्जको रूपमा उल्लेख गरिएको छ । विक अध्यक्ष अजम्बर राईकै नगर सुन्दर हरैचा नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । किशोर यसअघि पनि मुक्ति समाज मोरङको नेतृत्वमा थिए । उनलाई जिम्मेवारीविहीन बनाएर टुनाकुमारीलाई जिम्मेवारी दिइएको हो । रोचक कुरा त के भने निर्णय किशोरका नाममा भयो, सर्कुलर टुनादेवीका नाममा । 

यस्तै, प्रेस चौतारीको इन्चार्जबारे बैठकले ‘पछि मनोनयन गरिने’  निर्णय गरेको थियो । तर, सर्कुलरमा सन्तोष बान्तवाको नाम उल्लेख गरिएको छ । बान्तवा पनि अध्यक्ष अजम्बर राईकै नगरबाट हुन् र उनलाई यसपटक तीनवटा महत्वपूर्ण जिम्मेवारी दिइएको छ । जनसंगठन समन्वय संयन्त्र, प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल । 

पार्टी भित्रैबाट केही नेताहरूले यी निर्णयलाई सन्तुलनभन्दा पनि पक्षपाती रूपमा व्याख्या गर्न थालेका छन् । मोरङ कमिटीमा विद्या भण्डारी समूहको प्रभाव बलियो रहेको भन्दै एकजना जिल्ला सदस्यले टिप्पणी गरे,‘ओली निकट कार्यकर्ताहरूलाई क्रमशः जिम्मेवारीविहीन बनाउने र उनीहरूले सम्हालिरहेको भूमिकाबाट हटाउने प्रवृत्ति देखिन थालेको छ ।’

पर्वत

Link copied successfully